काठमाण्डौ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार आजदेखि शुरु भएको छ । मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब सहित नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।
बैंकको चुक्ता पुँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०० अर्ब भन्दा बढी र कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढी पुगेको छ। मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डुलाई मर्ज गरेपछि मुलुककै ठूलो बैंक समेत बनेको हो । यी दुई बैंकले मर्जर सम्झौता गरेको ७ महिनापछि एकीकृत कारोबार सुचारू गरेका हुन ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु १ः१ को स्वाप रेसियोमा मर्जर भएका हुन् ।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आईएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन् । दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरू, ४० लाख भन्दा बढी ग्राहकहरू रहेका छन् ।
अर्थ चाैतारी ।