काठमाण्डौ । देशका विभिन्न भागमा धेरै पानी परिरहेको छ । नवलपरासी, बर्दघाट, डन्डा र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा अत्यधिक वर्षा भएको छ ।
विनयी, अरुण, गिरुवारी खोलालगायत उक्त क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त क्षेत्र हुँदै यात्रामा निस्किने, डुबान भइरहने होचो भू–भाग तथा तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
पाल्पा, स्याङ्जा र आसपासको क्षेत्रमा पनि पछिल्लो तीन घण्टामा धेरै वर्षा भएको छ । निस्ती खोलालगायत उक्त क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाको जोड छ ।
यसैबीच वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा विहानैदेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ ।
अर्थ चाैतारी ।