काठमाण्डौ । यस बर्ष काठमाण्डौ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ३.६१ देखि ४.० ल्याउने विद्यार्थीको संख्या ७८प्रतिशतले वृद्धि भएको काठमाण्डौ महानगरले जनाएको छ ।
काठमाण्डौ महानगरमा गएको बर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६ प्रतिशत) जनाले ३.६१ देखि ४.० ल्याएका थिए ।
यस बर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० (३.८३ प्रतिशत) छात्रछात्राले ‘३.६१ देखि ४.० ल्याएका छन् । आवेदकमध्ये गएको बर्ष १२५ (३.१७) जना गयल भए भने यस बर्ष ५० (१.२३ प्रतिशत) जना गयल देखिए । यो तथ्याङ्कबाट के देखिन्छ भने उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दै छ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरु नियमित हुन थालेका छन् । हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि भएको महानगरले जनाएको छ ।
गएको बर्ष ‘ ३.२१ देखि ३.६० ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४ प्रतिशत) जना थियो । यस बर्ष ४८६ (१२.४२ प्रतिशत) पुगेको छ । यो ५१प्रतिशतले वृद्धि दर हो । गएको बर्ष ६९७ (१७.६८) जनाले २.८१ देखि ३.२१ मा उत्तीर्ण गरेका थिए । यस बर्ष ८०४ (२०.५५ प्रतिशत) जनाले २.८१ देखि ३.२१ ल्याएका छन् । यो १६ प्रतिशत वृद्धि हो । गएको बर्ष २.४१ देखि २.८० ल्याउने विद्यार्थीको संख्या ९६६ (२४.५ प्रतिशत) थियो । यस बर्ष ९७४ (२४.९० प्रतिशत) पुगेको जनाईको छ ।
गएको बर्ष १००४ (२५.४६) को २.०१ देखि २.४० आएको थियो । यस बर्ष २.०१ देखि २.४० ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४) पुगेको छ । यसको घट्दो प्रतिशत (–८ ) हो । यससँगै १.६१ देखि २.० ल्याउने विद्यार्थीको संख्या (–२९) प्रतिशतले घटेको छ । गएको बर्ष यस ग्रेडमा ६२० जना (१५.७२ प्रतिशत) उत्तीर्ण थिए । यस बर्ष ४३५ (११.१२ प्रतिशत) मा घटेको छ ।
महानगरभित्रका सामुदायिक विद्यालयमा यस बर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्याङ्कले देखाएको छ ।
यसका लागि काठमाण्डौ महानगरले गर्यो त महानगर प्रमुख आफ्नो फेसबुक वालमा बालेन शाहले यस्तो लेखेका छन् ।
गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन गर्यौँ । गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन गर्यौँ । उहाँहरुको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन । बाहिर समग्र रूपमा वृद्धि भएको छ ।
९० जना शिक्षकलाई १० घन्टे आइसीटी इन एजुकेसन तालिम प्रदान गर्यौँ । शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो ।
प्रविधिमैत्री सिप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन् ।
विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीहरु पढाइमा थप रुचि राख्न थाले । अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थाल्यो ।
प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाई हब बनाई शिक्षकहरूको सिकाई अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन हुनुको नतिजा कक्षाकोठा र परीक्षा फलमा बिम्बित भएको छ ।
अर्थ चाैतारी ।