काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आज कात्तिक १ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले साढे ५ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको हो ।
कम्पनीले गत भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको २ः१ अनुपात अर्थात् ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको ५ लाख ६३ हजार २६१ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।
कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
इच्छुक लगानीकर्ताले कात्तिक १५ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको हकप्रदमा सेयरमा सानिमा क्यापिटल र सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
अर्थ चाैतारी ।