काठमाण्डौ। नेपालबाट बाहिरिने रेमिट्यान्स ५० प्रतिशतले बढेको छ । तीन महिनामा झन्डै साढे २ अर्ब रुपैयाँ विदेशी कामदारले लगेका हुन् ।
नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । साउनदेखि असोज मसान्तसम्ममा विदेशी कामदारले नेपालबाट २ अर्ब ४४ करोड ८० लाख रुपैयाँ लगेका छन् । जुन गत आवको पहिलो त्रैमासको तुलनामा ५०।१३ प्रतिशतले बढी हो । गत आवको साउनदेखि असोज मसान्तसम्ममा पनि विदेशी कामदार नेपालबाट १ अर्ब ६३ करोड ५ लाख रुपैयाँ आफ्नो देशमा पठाएका थिए ।
नेपाल सरकारको वर्क पर्मिट ल्याएर नेपालमा काम गर्न आउने विदेशी कामदारले सो बराबरको रेमिट्यान्स आफ्नो देश पठाएका हुन् । नेपालमा काम गर्न आउने विदेशी कामदारले आफूले कमाएको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन सक्छन् । विदेशी कामदारले आफूले कमाएको २५ प्रतिशत रकम नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ ।
नेपालमा विदेशी लगानीका कम्पनी, आयोजनाहरूमा विदेशी कर्मचारी छन् । विभिन्न बैङ्क तथा वित्तीय संस्थामा समेत विदेशी कर्मचारी छन् । जलविद्युत आयोजनाहरूमा पनि चिनियाँ, भारतीय कामदारहरू आउने गर्छन् । उनीहरूले यहाँ कमाएर आफ्नो देशमा रेमिट्यान्स पठाउँछन् । नेपालका अनौपचारिक क्षेत्रमा भारतीय कामदार थुप्रै छन् । उनीहरूले अनौपचारिक रूपमा नगद बोकेर नै आफूले कमाएको पैसा आफ्नो देशमा लैजाने गर्छन् ।
मुख्य रूपमा नेपालबाट भारतमा ठुलो परिमाणमा रेमिट्यान्स पुग्छ । त्यसबाहेकका अन्य मुलुकले पनि नेपालबाट रेमिट्यान्स लैजान्छन् । नेपालमा आएर थुप्रै भारतीयहरू नागरिकहरू आएर अनौपचारिक रूपमा काम गर्छन् । उनीहरू चटपट बिक्री, फलफूल बिक्री गर्ने, सडक तथा निर्माणजन्य काममा आबद्ध छन् । त्यसबाट उनीहरूले आफूले कमाएको पैसा अनौपचारिक रूपमै लैजान्छन्, यसको हिसाब भने छैन । नेपालमा आएर औपचारिक रूपमा काम गर्ने भारतीय, चाइनिज लगायतका देशका नागरिकले रेमिट्यान्स लैजाने गरेका छन् ।
गत आवभर पनि नेपालबाट ६ अर्ब ६१ करोड २८ लाख रुपैयाँ रेमिट्यान्स नेपालबाट बाहिरिएको थियो । यस्तै, आव २०७९–८० मा ७ अर्ब ६७ करोड ९१ लाख रुपैयाँ विदेशी कामदारले आफ्नो देशमा पठाएका थिए । त्यसभन्दा अघिल्लो आव २०७७–७८ मा पनि ६ अर्ब १ करोड ८५ लाख रुपैयाँ नेपालबाट बाहिरिएको थियो ।
अर्थ चाैतारी ।