logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सहकारीको अर्बाै कुम्ल्याएर संचालक बेलायत फरार, श्वेतपत्रमा बचतकर्ताको रकम नै अपुग

    सहकारीको अर्बाै कुम्ल्याएर संचालक बेलायत फरार, श्वेतपत्रमा बचतकर्ताको रकम नै अपुग

    2.6K
    SHARES
    सहकारीको अर्बाै कुम्ल्याएर संचालक बेलायत फरार, श्वेतपत्रमा बचतकर्ताको रकम नै अपुग

    काठमाण्डौ । ललितपुरको पुलचोकमा केन्द्रीय कार्यालय भएको सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको अर्बौँ रकम कुम्ल्याएर बेलायत फरार भएका छन् ।



    २०५७ सालमा ललितपुरको पुलचोकमा केन्द्रीय कार्यालय राखेर सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारी (साकोस) सञ्चालनमा आएको थियो । सुमेरु सहकारीको पुलचोकमा केन्द्रीय कार्यालय छ भने ललितपुरकै धापाखेल र भक्तपुरको गट्ठाघरमा शाखा कार्यालय सञ्चालनमा छ । सहकारीले काठमाण्डौको कालिमाटीमा सुमेरुकै नाममा अर्को सहकारी सञ्चालन गर्दै आएको छ ।

     

    दुवै सहकारीमा गरी ३४ हजार ७७८ जना बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार ७०२ रुपैयाँ बचत छ । यसमध्ये १ अर्ब ९८ करोड ४८ लाख ८९ हजार ५०४ रुपैयाँ मात्रै कर्जा लगानी गरेको रेकर्ड भेटिएको छ । श्वेतपत्र अनुसार अहिलेसम्म देखिएका कम्पनी तथा जग्गाको बजार मूल्य करीब ११ अर्ब ४९ करोड देखिएको छ भने ४ अर्ब १० करोड ऋण प्रवाह भएको पाइएको छ । यो रकम सहकारीका बचतकर्ताको भए पनि सहकारीका नाममा कुनै सम्पत्ति नभएकाले सहकारीले बचत फिर्ता पाउने निश्चित छैन ।

     

    नाम नबताउने सर्तमा कालिमाटीको सहकारीमा कायर्रत एक कमर्चारीका अनुसार हाल संचालकले नै अस्पतालमा संकलन भएको रकम साप्ताहिक रूपमा बचत कर्तालार्य फिर्ता सुरुगरिएको बताए । उनले सानो रकम हुनेहरुलाई साप्ताहिक रुपमा २/३ हजार गरि फिर्ता गरिए पनि फिक्स डिजोजिटको बारेमा संचालकहरुले कुनै निर्णय नगरेको बताए ।

     

     

    सहकारीकाे संचालक नै परिवारका सदस्य 

    अझै सहकारीकै नाममा ललितपुरको धापाखेलमा सुमेरु अस्पताल, पुलचोकमा सुमेरु सिटी अस्पताल सञ्चालनमा रहेको छ । सुमेरु ग्रुपले ललितपुरको सातदोबाटोमा एसिएन कलेज, सुमेरु इन्भेष्टमेन्ट एण्ड रेमिट, सुमेरु मेडिकल कलेज, सुमेरु प्रिन्टस्, शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ दर्जन कम्पनीमार्फत व्यवसायजन्य काम गर्दै आएको छ । यत्रो बडेमानको सञ्जाल र व्यवसायका हकदार, सुमेरु ग्रुपका सञ्चालक भरत महर्जन सहकारीका बचतकर्ताको रहम हिनामिना गरेर परिवारसहित बेलायत उडेका छन् ।

     

    उनी पुलचोकमा केन्द्रीय कार्यालय रहेको सुमेरु सहकारीका अध्यक्ष हुन् भने उनका छोरा सचिन महर्जन कालिमाटीको सुमेरु सहकारीका अध्यक्ष हुन् । २१ वर्ष अध्यक्ष भएका मर्हजनले सुमेरु सहकारीका पूर्व कर्मचारी हेमराज दाहाललाई अध्यक्ष बनाएका छन् । दाहाल सुमेरु ग्रुपका महासचिव समेत हुन् । अझै रोचक त के छ भने अध्यक्ष दाहाल र सचिव विनोद आचार्यबाहेक दुवै सहकारीका सञ्चालकहरू भरतकै परिवारभित्रका सदस्य छन् ।

     

    सञ्चालक समितिका उपाध्यक्ष तथा सुमेरु साकोसका कार्यकारी प्रमुख तथा सुमेरु ग्रुपका उपाध्यक्ष वीरु महर्जन भरत महर्जनका भतिजा हुन् । सञ्चालकहरू दिलीप डंगोल र सुनिल डंगोल नाताले उनका भान्जा हुन् । कालिमाटी सहकारीकी सञ्चालक स्वच्छन्दा मानन्धर समेत उनको नजिकको आफन्त हुन् । गट्ठाघर शाखाका प्रबन्धक सरोज महर्जन भरतका दाइका छोरा हुन् भने सुमेरु साकोस धापाखेलका प्रबन्धक उज्वल महर्जन भान्जा हुन् । सञ्चालक रमेश महर्जन पनि भान्जा भएकाले सहकारीबाट उनले जस्तो चाह्यो, त्यस्तै निर्णय र काम कारवाही भएको थियो ।

     

    अझै बचतकर्ताको अर्बौँ रकम कुम्ल्याएर बनेका कलेज, अस्पताल, हाउजिङ, मार्ट लगायत कम्पनीको स्वामित्व भने सुमेरु सहकारीको नाममा नभएर ग्रुपको नाममा रहेको छ । बाँकी रकम भने भरत महर्जनका कम्पनी तथा व्यवसायमा मनलाग्दी लगानी भएको छ । बचतकर्ताले जम्मा गरेको रकम लगेर विभिन्न कम्पनीमा खन्याइएको छ । जसको स्वामित्व भरत र परिवारका सदस्यको नाममा छ । धापाखेलस्थित सुमेरु सामुदायिक अस्पतालमा भरत आफैं अध्यक्ष छन् भने परिवारका सदस्यहरू सञ्चालक । अस्पताल, त्यसले चर्चिएको जमिन तथा अन्य सबै सम्पत्ति भरत महर्जन र उनको परिवारका नाममा छ ।

     

    सहकारीकाे बचतले निजी सम्पति खरिद, बचतकर्ताको रकम नै अपुग

    सुमेरु ग्रुपका नाममा रहेका विभिन्न संस्थाको लगानीको हिसाब गर्ने हो भने पनि बचतकर्ताको बचत असूलउपर नहुने स्थिति छ । सहकारीका सञ्चालक समिति र बचतकर्ताले संयुक्त रूपमा निकालेको श्वेतपत्र अनुसार १५ रोपनी १३ आना ३ पैसा १ दाम जग्गा छ । जसको बजार मूल्य करीब १ अर्ब ५२ करोड मानिएको छ ।

     

    अस्पतालको भौतिक संरचना, मशिनरी लगायत सबै सामानको मूल्यांकन १ अर्ब मानिएको छ । कूल २ अर्ब ५२ करोड १० लाख मूल्यांकन गरिएको अस्पतालको शेयरमा मुख्य हिस्सा भरत र उनको परिवारको छ । पुल्चोकस्थित सुमेरु सिटी अस्पताल परिसरमा २ रोपनी १३ आना ३ पैसा बढी जग्गा छ । श्वेत पत्रमा भौतिक संरचना र मशिनरी सबै गरेर अस्पतालको मूल्यांकन १ अर्ब ४२ करोड राखिएको छ तर यो पनि भरतकै स्वामित्वमा छ ।

     

    धापाखेलस्थित हर्स राइडिङ एरियामा ३१ रोपनी ४ आना २ पैसा २ आना जग्गा छ, यो सुमेरु हाउजिङ र हस्पिटलको नाममा छ भने केही रमेश महर्जनको नाममा छ । यो जग्गाको बजार मूल्य मात्र १ अर्ब ४५ करोड रहेको श्वेत पत्रमा उल्लेख छ । सुमेरु मार्ट सातदोबाटोले चर्चिएको ४ रोपनी ७ आना २ पैसा जग्गा भरतकै स्वामित्वमा रहेको एसियन फाउण्डेसन, सुमेरु हाउजिङ र शंकरापुर एकेडेमीको नाममा छ । जग्गा र त्यहाँ रहेका भौतिक संरचनाको बजार मूल्य करीब १ अर्ब १६ करोड देखिएको छ ।

     

    लेलेमा ४२ रोपनी १२ आना, इकुडोलमा १२८ रोपनी ७ आना २ पैसा जग्गा छ, जसको स्वामित्व भरतले नेतृत्व गरेको निजी कम्पनीकै छ । सुमेरु रिसोर्ट टौदह रहेको चाल्नाखेलको २१ रोपनी ४ आना जग्गा भरतका छोराछोरी सचिन र सरलाको नाममा छ । भरतले श्रीमती राजमायाको नाममा ललितपुर–३ धापाखेलमा जग्गा किनेका छन् भने आफ्नो नाममा गट्ठाघर, छैमले लामाटार, नुवाकोटको बेलकोट लगायत क्षेत्रमा जग्गा जोडेका छन् । चितवनको देवौली र रामनगर, हेटौंडाको हटिया, तनहुँको दमौली लगायत क्षेत्रमा पनि जग्गा किनेको पाइएको श्वेत पत्रमै उल्लेख छ ।

     

    यी सबैको मूल्यांकन गर्दा करीब १० अर्ब ३४ करोड बढी हुन जान्छ तर सुमेरुका दुवै सहकारीका बचतकर्ताको रकम फिर्ता दिन नसक्ने अवस्थामा छ भने सञ्चालक फरार हुँदा सञ्चालकको सुमेरुका सबै सम्पत्ति सरकारले रोक्का गरेको छ ।

     

    श्रीमतीसँग नक्कली सम्बन्धविच्छेद, बैंकमा १ अर्ब बढी ऋण

    जनताको रकम आफ्ना निजी कम्पनीहरूमा हत्याएपछि कुनै दिन संकट आउने निश्चित थियो । सुमेरु सहकारीले २०७९ पुसदेखि बचतकर्ताको बचत फिर्तामा सिलिङ लगाउन थाल्यो । आफूले दुःख गरेर जम्मा गरेको रकम फिर्ता माग्न आउने बचतकर्ताको लाम लागेपछि सुमेरु सहकारीले कार्यालय खोलेर कारोबार सञ्चालन गर्न सक्ने अवस्था समेत रहेन ।

     

    त्यहीँ बेला अध्यक्ष भरत बेलायत लागे । सहकारीमा बचतकर्ताको भीड लागेपछि उनी दुवै सहकारीका लागि ३०–४० करोड रकम झिकिदिएर बेलायत गए । उनी नफर्किंदै पैसा सकियो । उनी फर्किएपछि लेनदेनका लागि भनेर सहकारीमा ३ अर्ब रुपैयाँ बाँकी रहे पनि सिलिङ तोकेर बचतकर्तालाई फिर्ता गर्न थालियो ।

     

    त्यतिबेलासम्म भरतका दुवै सहकारी समस्याग्रस्त सहकारीको सूचीमा परे । उनी आफू पक्राउ पर्ने डरले श्रीमतीको उपचारका लागि भनेर तराईको बाटोबाट भारत हुँदै बेलायत पुगे । भरतले पक्राउ पर्ने डरले साढे २ वर्षअघि श्रीमती राजमायासँग नक्कली सम्बन्धविच्छेद गर्नुका साथै छोराछोरीलाई अंश दिइसकेका छन् । यद्यपि उनी बेलायतमा सपरिवार सगोलमा बस्दै आएका छन् ।

     

    बचतकर्ताको १० अर्ब ३४ करोड निक्षेप तथा दायित्व छ भने बैंकको कर्जा र अरू दायित्व १ अर्ब २४ करोड छ । सुमेरु सिटी हस्पिटलमा कुमारी बैंकको २५ करोड ऋण लगानी रहेको छ भने सुमेरु अस्पतालमा कुमारी बैंककै ८० करोड र प्रभु बैंकको २० करोड ऋण लगानी छ । ऋणसहित व्याजको अन्योलमा रहेका बैंकलाई सुमेरु ग्रुपको सम्पत्ति रोक्काले अझै आतंकित पारेको छ ।

     

    यसरी खडा भयो सुमेरुको साम्राज्य, सहकारीका बचतकर्तालाई धोका

    सुमेरु सहकारीमा साँझ ५ बजेसम्म कार्यालय खुला राख्नेदेखि अनेक स्मिक देखाएर सार्वसाधारणलाई लोभ्याइयो । सहकारीमा रकम जम्मा गर्न लगाइयो । जब सहकारीको पुँजी बढ्यो, उनले त्यसलाई मनपरी ढंगले चलाउन थाले । महर्जनले २०६८ सालमा सहकारीको रुपैयाँले धापाखेलमा ३०० शय्याको सुमेरु सामुदायिक अस्पताल स्थापना गरे । २०६९ सालमा सहकारीकै लगानीमा पुल्चोकमै १०० शय्याको सुमेरु सिटी अस्पताल खोले, जसको स्वामित्व आफैंसँग राखे । सुमेरु मेडिकल कलेज, एसियन कलेज अफ एडभान्स्ड स्टडिज, शंकरापुर एकेडेमी, रिसोर्ट, कृषि फार्म खोले । काठमाडौं उपत्यकाका साथै बाहिरका जिल्लामा जग्गा खरिद गरे । उनले एक दिन सहकारी नै टाट पल्टिने कल्पना गरेनन् र  निक्षेपकर्ताको रकम फिर्ता दिनुपर्ने पनि सोचेनन् ।

     

     

    भीभीआईपीसँग उठबसले राजनीतिक संरक्षण

    सुमेरु सहकारीका पूर्व अध्यक्ष तथा सुमेरु ग्रुपका अध्यक्ष मर्हजनको विभिन्न राजनितिक दलका नेताहरूको राम्रै साँठगाँठ थियो । उनले चुनावका बेला विभिन्न दललाई चन्दा सहयोग समेत गर्दै आएका थिए । जसका कारण उनका हरेक कार्यक्रममा भीभीआईपीको राम्रै उठबस हुन्थ्यो । उनको व्यवहारदेखि सबै ठाँटकै हुन्थ्यो, जसका कारण उनको सहकारी टाँट पल्टिने कल्पना नै गरेनन् बचतकर्ताले । उनले लगानी गर्ने परियोजना तथा कम्पनी उद्घाटन तथा शिलान्यास गर्न वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनालदेखि कांग्रेस महामन्त्री गगन थापासम्म आउने गरेका थिए ।


    अर्थ चाैतारी
  • आइतबार, १४ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट