काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १९ गते सातौ वार्षिक साधारण सभा हुने भएको छ । मस्र्याङ्दी रिभर म्यू रिसार्ट, बन्दिपुर–५, तनहुँमा विहान ११ बजे सभा सभा गर्ने तयारी कम्पनीले गरेको हो । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । सभाले गत आथिक वर्ष ०७८–७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साथै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरमा जाने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन । मर्जरका लागि तय भएको एक बराबर एक शेयर आदानप्रदानको शेयर स्वाप रेसियोलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ ।
मर्जर पश्चात बन्ने कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यी कम्पनी एक भई सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार गर्ने गरी अघि बढेका हुन । मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
अर्थ चाैतारी ।