काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बजार महँगी ३ दशमलब १५ प्रतिशतले घटेर ४ दशमलब ६१ प्रतिशतमा पुगेको तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोहि अवधिमा वार्षिक बिन्दुगत मुद्रास्फीति ७ दशमलब ७६ प्रतिशत रहेकोमा यो वर्ष घटेर ४ दशमलब ६१ प्रतिशतमा झरेको हो ।
चालु आर्थिक वर्षको बजेटले यो वर्षको मुद्रास्फीति ६ दशमलब ५ प्रतिशतको सीमामा राख्ने नीति बनाएको थियो । राष्ट्र बैङ्कका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलब २१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलब १४ प्रतिशत रहेको छ ।
यस्तै चैत महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलब ०६ प्रतिशत, तराईको ४ दशमलब ५८ प्रतिशत, पहाडको ५ दशमलब ३३ प्रतिशत र हिमालको ४ दशमलब ३२ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलब ५७ प्रतिशत, तराईक ७ दशमलब ६८ प्रतिशत, पहाडको ७ दशमलब ०१ प्रतिशत र ७ दशमलब ४७ प्रतिशत रहेको थियो ।
अर्थ चाैतारी ।