काठमाण्डौ । फिनल्यान्ड सरकारले नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने दिने भएको छ । फिनल्याण्डले जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका लागि सो रकम अनुदान दिने भएको हो ।
अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत रिना–रिक्का हेक्काले हस्ताक्षर गरेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फिनल्यान्ड सरकारले दिने सो रकम अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
सम्झौताअनुसार फिनल्यान्डले नेपाललाई १३ मिलियन युरो अर्थात १ अर्ब ८७ कोड (१.८७८ अर्ब) अनुदान दिने छ । युरोपेली संघ (ईयू) को १८ मिलियन र फिनल्यान्डको १३ मिलियन अनुदान तथा नेपाल सरकारको २० मिलियन गरी ५१ अर्ब युरो रकमबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमातर्फत जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिनेछन् ।
युरोपेली संघ र अर्थ मन्त्रालयबीच त्यससम्बन्धी सम्झौतापत्रमा यसअघि नै हस्ताक्षर भइसकेको छ । ६ साउन २०८० मा भएको उक्त नेपालका तर्फबाट अर्थ मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल र संघका तर्फबाट मध्यपूर्व र एसिया प्रशान्त क्षेत्र हेर्ने निर्देशक पेटेरियस युस्तुब्सले हस्ताक्षर गरेका थिए ।
नेपाल र फिनल्यान्ड तथा पुरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा उक्त सम्झौता भएको जानकारी दिइयो । आयोजनाको कार्यान्वयन आगामी आर्थिक वर्ष २०८१–८२ मा हुनेछ ।
कार्यक्रममा सहसचिव नेपालले जलवायु परिवर्तनमा स्थानीय अनुकूलन तथा प्राकृतिक स्रोत व्यवस्थापनमार्फत जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने लक्ष्य आयोजनाले राखेको बताए ।
अर्थ चाैतारी ।