काठमाण्डाै । प्रिमियम शुद्ध पिउने पानी उद्योगमा नयाँ पहिचान बनाउन उद्दत वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले एनएमबी क्यापिटल लिमिटेडसँग संस्थागत परामर्श सहकार्य गर्ने सम्झौता गरेको छ। केडिया अर्गनाइजेसनको नवीन परियोजनाको रूपमा अघि बढिरहेको यस कम्पनीले व्यवसाय विस्तार, पूँजी पुनःसंरचना र दीर्घकालीन रणनीतिक साझेदारीका लागि एनएमबी क्यापिटललाई आधिकारिक परामर्शदाताको रूपमा नियुक्त गरेको हो।
कम्पनीका अनुसार उक्त सहकार्य कम्पनीलाई प्रिमियम पिउने पानी उद्योगमा स्थापित ब्राण्ड बनाउँदै व्यवसाय वृद्धिमा सघाउने लक्ष्यअनुरूप गरिएको छ। एनएमबी क्यापिटलले पूँजी संरचना सुधार, वित्तीय परामर्श तथा रणनीतिक साझेदार भित्र्याउने क्षेत्रमा सहकार्य गर्दै वृजहिमालयन स्प्रिङको दीर्घकालीन योजना कार्यान्वयनमा सहयोग पुर्याउने जनाएको छ।
हाल वृजहिमालयन स्प्रिङले “पूर्ण Natural” ब्रान्डअन्तर्गत १ लिटर, ५०० मिलिलिटर, २५० मिलिलिटर बोतल तथा २० लिटरको जारमा मिनरल पानी र शुद्ध प्रशोधित पानी उत्पादन तथा बिक्री गरिरहेको छ। कम्पनीको उत्पादन काठमाडौं उपत्यकालगायत प्रमुख शहरी क्षेत्रमा प्रवेश गरिसकेको छ। वृजहिमालयन स्प्रिङका प्रबन्ध निर्देशक सत्यम केडियाले एनएमबी क्यापिटलसँगको सहकार्य कम्पनीको दीर्घकालीन दिगो लक्ष्यप्रति प्रतिबद्धता भएको उल्लेख गर्दै भने, “वित्तीय रणनीतिक साझेदारको रूपमा एनएमबी क्यापिटलको अनुभव र विशेषज्ञता हाम्रा सरोकारवालाहरूका लागि उच्च प्रतिफल दिन सहयोगी हुने विश्वास लिएका छौं।”
एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले उत्पादनमूलक क्षेत्रमा नयाँ उद्यमलाई सघाउने लक्ष्यअनुरूप वृजहिमालयन स्प्रिङसँग सहकार्य गर्न पाउनु उत्साहजनक रहेको बताए। केडिया अर्गनाइजेसनको नेतृत्वमा वृजहिमालयन स्प्रिङ स्थापना गरिएको हो। संगठनले विगतमा बैंक, बिमा, सिमेन्ट, स्टील, इक्विटी लगायत विभिन्न क्षेत्रका व्यवसायहरू सञ्चालन गर्दै लगानीकर्तालाई सशक्त प्रतिफल दिँदै आएको छ। वृजहिमालयन स्प्रिङको स्थापना पनि यही व्यावसायिक अनुभव र क्षमताको निरन्तरता भएको कम्पनीले उल्लेख गरेको छ।
अर्थ चाैतारी ।