काठमाण्डौ । भक्तपुर स्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ८ वर्षमा ३३ जनाको कलेजो प्रत्यारोपण गरेको छ। २०७३ सालदेखि कलेजो प्रत्यारोपण सुरु गरेको अस्पतालले हाल सम्म ३३ जनाको कलेजो प्रत्यारोपण गरेको हो। यो सँगै नेपालमा केन्द्र सबै भन्दा धेरै कलेजो प्रत्यारोपण गर्ने अस्पताल बनेको छ।
अस्पतालका निर्देशक डा पुकार श्रेष्ठले एक वर्ष भित्र १५ जनाको कलेजो प्रत्यारोपण गरेको जानकारी दिएका छन्। केन्द्रले पछिल्लो पटक चैत्र १२ गते चितवनका ३९ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको छ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल र चितवन मेडिकल कलेजमा मात्र कलेजो प्रत्यारोपण हुने गरेको छ। त्रिवि शिक्षण अस्पतालले हाल सम्म १६ जना र चितवन मेडिकल कलेजले ६ जनाको कलेजो प्रत्यारोपण गरेको छ।
हेपाटाइटिस बी र सी, सिरोसिसका कारण बिग्रिएको, जन्मजात कलेजोमा समस्या भएको व्यक्तिलाई र अचानक कुनै कारणले फेल भएमा कलेजो प्रत्यारोपण गर्नुपर्छ। कलेजो प्रत्यारोपणका लागि १५ देखि २० लाख सम्म लाग्छ।
अर्थ चाैतारी ।