काठमाण्डौ । गैरकानुनी क्रिप्टोकरेन्सी र हुण्डी कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ललितपुरको सानेपाबाट पक्राउ गरेको छ । किराना पसलको आवरणमा सञ्चालन भइरहेको अवैध कारोबारबारे प्राप्त सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्तिहरूबाट अनुसन्धान टोलीले विभिन्न सामग्रीहरू बरामद गरेको छ । अनुसन्धानको क्रममा उनीहरूको साथबाट मोबाइल फोन ५ थान फेला परेको छ ।
त्यसैगरी, नेपाली रुपैयाँ ८ लाख २० हजार नगदसमेत बरामद गरिएको छ । साथै भारतीय रुपैयाँ १० हजार नगद पनि बरामद भएको सीआईबीले जनाएको छ । घटनास्थलबाट सीसीटीभी डीभीआर १ थान पनि बरामद गरिएको छ । त्यस्तै, प्रतिबन्धित वन्यजन्तु कस्तुरीको अखेटोपहारजस्तो देखिने वस्तु ७४ ग्राम वजनको १ थान समेत फेला परेको छ । प्रारम्भिक अनुमान अनुसार उक्त वस्तु संरक्षित वन्यजन्तुसँग सम्बन्धित हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ ।
सीआईबीको टोलीले असार २३ गते ललितपुर महानगरपालिका–२ स्थित कालोपुल सानेपामा रहेको ‘राजतिर्थ ट्रेडर्स’ नामक किराना पसलमा छापा मारेको थियो । सो पसल भारतको बिहार राज्य मोतिहारी स्थायी ठेगाना भएका ४३ वर्षीय रुपेश कुमार गुप्ताले सञ्चालन गर्दै आएका थिए ।
छानबिनका क्रममा सो पसलबाट अवैध क्रिप्टोकरेन्सी कारोबारसँगै हुण्डी कारोबार पनि भइरहेको पुष्टि भएको छ । सोही क्रममा गुप्तासँगै भारतकै बिहार राज्य पूर्वी चम्पारण बिजबनी स्थायी ठेगाना भएका २२ वर्षीय बिपिन कुमारलाई समेत पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभौतिक मुद्रा प्रयोग गर्न नहुने, हुण्डी कारोबार गर्न नहुने, तथा संरक्षित बन्यजन्तुसम्बन्धी कसूरमा मुद्दा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोले यस्ता गैरकानुनी गतिविधिहरूमा संलग्न नहुन सबैमा अनुरोध गर्दै, यस्ता कार्यबारे कुनै सूचना भएमा नजिकको प्रहरी कार्यालय वा सीआईबीमा जानकारी दिन आग्रह गरेको छ । प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक युवराज खड्काले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता अपराधहरूविरुद्ध ब्यूरोले निरन्तर निगरानी राखिरहेको उल्लेख गरिएको छ।
अर्थ चाैतारी ।