काठमाण्डौ । नेपालको एक पुरानो र प्रख्यात खाद्य उत्पादन कम्पनी नेबिको लिमिटेड ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) ल्याउने भएको छ। कम्पनीले कुल २० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने तयारी गरेको हो।
आईपीओ निष्काशनका लागि नेबिकोले सिद्धार्थ क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो सम्बन्धी सम्झौता २०८२ साल साउन ८ गते, काठमाडौं नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो।
सम्झौतापत्रमा नेबिको लिमिटेडका तर्फबाट अध्यक्ष राज बहादुर सिंह र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्की ले हस्ताक्षर गरेका छन्।
नेबिको लिमिटेड सन् १९६४ मा स्थापना भएको, नेपालकै पुराना खाद्य उत्पादन कम्पनीहरूमध्ये एक हो। कम्पनीले काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको मुख्य कारखानाबाट साथै हेटौंडा र भैरहवाका अन्य इकाइहरूबाट बिस्कुट तथा कन्फेक्शनरी उत्पादन गर्दै आइरहेको छ। हाल कम्पनीको वार्षिक उत्पादन क्षमता १,५०० मेट्रिक टन रहेको छ।
नेबिकोको व्यापार नेपालका विभिन्न प्रमुख खाद्य क्षेत्रमा फैलिएको छ, र यो आईपीओले कम्पनीलाई अझ व्यापक विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अर्थ चाैतारी ।