गलकोट (बागलुङ) । स्थानीयवासीको चन्दा सङ्कलन र संस्थागत सहयोगमा बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयामा “हाम्रो स्वास्थ्य गाउँघर क्लिनिक” स्थापना गरिएको छ। ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तारका उद्देश्यले स्थापना गरिएको यो क्लिनिक शुक्रबारदेखि सञ्चालनमा आएको हो।
कुल एक लाख नौ हजार रूपैयाँको लागतमा सञ्चालनमा ल्याइएको क्लिनिक बागलुङ नगरपालिका, नारायणस्थान स्वास्थ्य चौकी, फेयरमेड नेपाल, गाजा डेभलपमेन्ट फाउन्डेसन, सम्बोधन परियोजना, टोल विकास संस्था, शिव प्राथमिक विद्यालय र स्थानीय समाजसेवीहरूको संयुक्त सहयोगमा स्थापित गरिएको हो।
वडाध्यक्ष चक्रबहादुर खत्रीका अनुसार क्लिनिकको भवन निर्माणदेखि सामग्री व्यवस्थासम्मको खर्च स्थानीय स्रोत र व्यक्तिगत योगदानबाट जुटाइएको हो। औषधि र जनशक्ति व्यवस्थापन भने बागलुङ नगरपालिकाले गर्ने प्रतिबद्धता जनाएको छ।
क्लिनिक सञ्चालनका लागि नगरपालिकाबाट १५ हजार ४०० रूपैयाँ, नारायणस्थान स्वास्थ्य चौकीबाट २८ हजार २३० रूपैयाँ, गाजा डेभलपमेन्ट फाउन्डेसनको सम्बोधन परियोजनाबाट २७ हजार ४४५ रूपैयाँ, टोल विकास संस्थाबाट १० हजार ५०० रूपैयाँ र संस्थाका अध्यक्ष होमनाथ ढकालले व्यक्तिगत रूपमा १८ हजार रूपैयाँ सहयोग गरेका छन्।
त्यस्तै, प्रगतिशील स्वास्थ्य आमासमूहले चार हजार २००, समाजसेवी गौरबहादुर पौडेल र भद्रकला पौडेल दम्पतीले चार हजार ५००, मनकुमारी थापाले एक हजार २०० र शिव प्राथमिक विद्यालयले भवनको एक कोठा सहयोग उपलब्ध गराएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो।
गाउँघर क्लिनिकलाई व्यवस्थित र दिगो रूपमा सञ्चालन गर्न सबै संलग्न संघसंस्थाबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।
बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले “कर्मचारीबाहेक औषधि, उपकरण र अन्य व्यवस्थापनमा नगरपालिकाले निरन्तर सहयोग गर्ने” प्रतिबद्धता जनाउनुभयो।
स्थानीयवासीहरूका अनुसार यो क्लिनिक सञ्चालनमा आएपछि स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्ने र समुदायस्तरमै सेवा पाउने सुविधा हुनेछ।
अर्थ चौतारी ।