logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • थलिएको मनोबल उठाउने प्रयासमा निजी क्षेत्र, भन्छन्– विश्वास र आस्था गुमे देश बन्दैन

    थलिएको मनोबल उठाउने प्रयासमा निजी क्षेत्र, भन्छन्– विश्वास र आस्था गुमे देश बन्दैन

    2.5K
    SHARES
    थलिएको मनोबल उठाउने प्रयासमा निजी क्षेत्र, भन्छन्– विश्वास र आस्था गुमे देश बन्दैन

    काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटना र त्यसपछिको राजनीतिक अस्थिरताले निजी क्षेत्रको मनोबल पूर्ण रूपमा खस्किएको छ । निजी क्षेत्र मनोबल उच्च बनाउन सक्षम पनि छ, तर सरकारले शान्ति सुरक्षाको वातावरण बनाउनुपर्छ । सोमबार काठमाण्डौमा पत्रकार सम्मेलनमा जेनजी आन्दोलनपछिको परिस्थितिले देशको व्यावसायिक वातावरणमा पारेको प्रभावलाई सम्बोधन गर्न २८ वटा निजी क्षेत्रका छाता सङ्गठनहरूले यस्तै आग्रह गरे ।उद्योगी–व्यवसायीहरूले सोमबार गहिरो चिन्ता व्यक्त गरे । उनीहरूले भौतिक संरचनाको क्षतिभन्दा पनि काम गर्ने मानिसको आस्था, विश्वास र मनोबल टुट्नु देशका लागि सयौँ गुणा बढी हानिकारक हुने पनि चेतावनी दिए । सबै छाता संगठनहरूले निजी क्षेत्रलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने धारणा राखे । वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थाप्रति थप जिम्मेवार र सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि उनीहरूले जनाएका थिए ।



     

    आन्दोलनका क्रममा निजी क्षेत्रमा आगजनी, तोडफोड र लुटपाटले ठुलो क्षति भएको छ, त्यसले निजी क्षेत्रको मनोबल कमजोर छ । यसलाई माथि उठाउन सरकारले उच्छृङ्खल गतिविधिमा संलग्नलाई कारबाही गर्नुपर्ने र निजी क्षेत्रलाई सुरक्षा दिनुपर्ने अवस्था छ । यस्तो अवस्थामा सरकारले मनोबल उठाउन चालेका कदमप्रति निजी क्षेत्रका छाता सङ्गठनहरूको धारणा राखेका हुन् । राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले देशको पछिल्ला राजनीतिक अनिश्चितता, आर्थिक मन्दी र सामाजिक असन्तुलनले व्यावसायिक वातावरणमा चुनौती थपिएको बताए । त्यसले लगानी, रोजगारी र उत्पादन क्षमतामा प्रत्यक्ष असर पारेको उनले उल्लेख गरे ।

     

    जोशीले निजी क्षेत्र देशको अर्थतन्त्रको इन्जिन भएको बताए । कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशतभन्दा बढी र करिब ५० लाख रोजगारी सिर्जना गरेर निजी क्षेत्रले राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथ्य उनले स्मरण गराए । भने, ‘आज हामी सबै यहाँ एउटै साझा उद्देश्यका साथ उपस्थित भएका छौँ, शान्ति र समृद्धिका लागि ऐक्यबद्धता । हाम्रो विश्वास छ, शान्तिबिना समृद्धि सम्भव छैन र समृद्धिबिना शान्ति स्थायी रहँदैन ।’ उद्योगी पदम ज्योतिले क्षतिको भावनात्मक र मनोवैज्ञानिक पक्षमाथि जोड दिए । भने, ‘घर, फ्याक्ट्री जति ध्वस्त भए पनि पुनः बनाउन सकिन्छ । तर त्यहाँ काम गर्ने मान्छेको आस्था र विश्वासमा कमी आयो, भविष्यप्रति उनीहरूको दृष्टिकोणमा निराशा छायो भने त्यो मर्नु भनेको घर भत्किनुभन्दा सयौँ गुणा बढी हानिकारक हुन्छ ।’

     

    उनले नयाँ पुस्तामा परिवर्तनका लागि हिंसा नै एकमात्र बाटो हो भन्ने गलत धारणा विकास हुन सक्ने खतरा औँल्याए । ‘हाम्रो नयाँ पुस्तालाई यहाँ कुनै अवसर नै छैन भन्ने लाग्न थाल्यो र परिवर्तनका लागि हिंसात्मक बाटो मात्रै सम्भव छ भन्ने धारणाले उनीहरूको दिमागमा जरा गाड्यो भने त्यसलाई हामीले बढावा दियौँ भने देश झन् ठुलो दुर्घटनामा जान्छ,’ ज्योतिले भने । उनले घर, भवन भत्किँदा गुमेको भन्दा पनि मानिसको विश्वास, आस्था र भविष्यप्रतिको आशालाई जोगाउनु आजको प्रमुख आवश्यकता भएको बताए ।

     

    nbi-photo2

    त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले अब सरकार, निजी क्षेत्र र सबै सरोकारवाला निकाय एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । भने, ‘अब हामी सबै एक भएर अगाडि बढ्नुपर्छ । निजी क्षेत्रले नियतबस गल्ती गरेको छ भने त्यसलाई सजाय दिनुपर्छ, तर भुलवश भएका त्रुटिहरूलाई सच्याएर अगाडि बढ्ने मौका दिनुपर्छ ।’ उनले देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रलाई बाहिर पारेर देशको विकास असम्भव रहेको कुरा सरकारले बुझ्नुपर्ने बताए । उनले सरकारले निजी क्षेत्रका जायज समस्या सम्बोधन गर्ने, व्यावसायिक वातावरण बनाउने र रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताए ।

     

    देशमा दिगो शान्ति कायम गर्न सरकारले समयमै स्वच्छ, निष्पक्ष र सफलतापूर्वक निर्वाचन सम्पन्न गराउनुपर्नेमा उनको जोड थियो । नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ देर्जी लामा (एडी)ले रवि निर्माण क्षेत्रमाथि चौतर्फी आक्रमण भइरहेको गुनासो गरे । उनले व्यवसायीको मात्रै नभई सरकारी निकायका कारणले पनि हजारौँ ठेक्काहरू अलपत्र परेको तथ्य प्रस्तुत गरे । ‘नेपाल सरकारले ठेक्का लगाउने तर समयमा साइट क्लियर नगर्ने, डिजाइनमा समस्या हुने र अरबौँ रुपैयाँ भुक्तानी रोक्ने गर्दा हजारौँ ठेक्काहरू समयमा सम्पन्न हुन सकेका छैनन्,‘ एडी लामाले भने, ‘तर अहिले सरकारले सयौँ ठेक्का तोड्ने भनेर हचुवाको भरमा निर्णय गरिरहेको छ । हाम्रो भनाइ के हो भने, कुन ठेक्का व्यवसायीको कारणले र कुन सरकारको कारणले रोकिएको हो ।’

    niji-photo

    उनले त्यसको छानबिन हुनुपर्ने बताए । व्यवसायीको गल्ती भए कारबाही गर्न सहमति रहेको भन्दै सरकारी कारणले काम नहुँदा व्यवसायीलाई दोषी देखाउन नहुने बताए । त्यस्तै, इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रले अब अब ‘शान्तिसहितको समृद्धि’ आवश्यक रहेको औँल्याए । ‘यो देश हामीले नै बनाउने हो, विदेशीले आएर बनाइदिने होइन,’ उनले भने, ‘तर हामीले यहाँ सुरक्षित महसुस गर्नुपर्‍यो । हरेक दशकमा कुनै न कुनै उद्योगमाथि आक्रमण हुन्छ, यसले हाम्रो मनोबल घटाउँदै लगेको छ ।’

     

     

    उनले सरकारको उपस्थिति र नीतिगत स्थायित्वको प्रत्याभूति खोजेको बताए । ‘सरकार छ भन्ने खालको वातावरण बनाइदिनुपर्‍यो । हरेक छ महिनामा नीति परिवर्तन हुँदा हामीले कसरी काम गर्ने ?’ उनले प्रश्न गरे । इँटा उद्योग महासंघका अध्यक्ष कृष्णप्रसाद अवालले आफ्नो उद्योगको प्रकृति खुला स्थानमा हुने भएकाले सबैभन्दा बढी असुरक्षित रहेको बताए । उनले भने, ‘हाम्रो उद्योग खुला ठाउँमा गर्नुपर्ने भएकाले जे पनि हुन सक्छ । तैपनि हामीले देशका लागि चाहिने इँटा उत्पादन गर्न मनोबल बढाएर काम गरिरहेका छौँ ।’ उनले सफल व्यवसायबिना सफल समाज बन्न नसक्ने र त्यसका लागि सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

     

    niji-photo2

    होटल संघ नेपालका अध्यक्ष विनायक शाहले यो कार्यक्रम नै गिरेको मनोबल उकास्ने एउटा अभ्यास भएको बताए । उनले भने, ‘घटना घटिसक्यो, अब यसलाई कसरी सम्बोधन गर्ने ? सरकारको ’रिभाइभल प्लान’ र ’रिबिल्डिङ प्लान’ के हो ? त्यो स्पष्ट छैन ।’ उनले पर्यटन क्षेत्रको उदाहरण दिँदै भने, ‘अक्टोबरमा १ लाख २८ हजार पर्यटक भित्रिएको सुखद खबर आउँछ, तर हाम्रो होटलको अकुपेन्सी ३० प्रतिशत मात्रै छ । तथ्यांकले मात्रै हुँदैन, त्यसको अनुभूति व्यवसायी र जनताले गर्न पाउनुपर्छ ।’

     

     

    नेपाल एलपी ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेले हालैको घटनालाई ‘अकल्पनीय र अपूर्व क्षति’को संज्ञा दिए । उनले भने, ‘यो घटनाले विश्वभरि नै अत्यन्तै गलत सन्देश गएको छ । यसले विदेशमा बसेर नेपालमा लगानी गर्न चाहने नेपाली र विदेशी लगानीकर्ता दुवैलाई निरुत्साहित गरेको छ ।’ उनले निजी क्षेत्र संकटमा परेका बेला सरकारले ट्रंक लाइन र डेडिकेटेड फिडरको बिजुली महसुलको पुरानो विवादलाई प्रतिशोधपूर्ण ढंगले उठाएको भन्दै आक्रोश व्यक्त गरे । उनले बिग्रँदो सुरक्षा अवस्थाका कारण तोकिएको समयमा निर्वाचन हुन सक्नेमा समेत शंका व्यक्त गरे । ‘जेल तोडेर अपराधी भागेका छन्, हतियार लुटिएका छन्, ‘घिमिरेले भने, ‘यस्तो अवस्थामा कसरी समयमा निर्वाचन हुन्छ ? निजी क्षेत्र सबैभन्दा कमजोर पात्र हो, जसको काम कर तिर्ने र रोजगारी दिने हो, तर हामी नै सधैँ तारो बन्छौँ ।’

     

     

    नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका राष्ट्रिय अध्यक्ष वीरेन्द्रप्रसाद प्रधानले व्यवसायीको मनोबल खिया लागेजस्तै भएको टिप्पणी गरे । उनले भने, ‘जब भौतिक संरचना ध्वस्त हुन्छन्, निर्दोष मानिसलाई गोली लाग्छ, तब मनोबल कसरी उच्च हुन्छ ? हाम्रो मनोबलमा खिया लागेको छ ।’ निजी क्षेत्रले सरकारसमक्ष तत्काल वार्ता र संवादमार्फत सुरक्षित वातावरण बनाउन, नीतिगत स्थायित्व दिन र आफूहरूलाई देश विकासको साझेदारको रूपमा व्यवहार गर्न एक स्वरमा माग गरेको छ । उनीहरूले देशलाई थप संकटबाट जोगाउन र समृद्धिको बाटोमा फर्काउन आफूहरू सरकारसँग मिलेर काम गर्न तयार रहेको तर त्यसका लागि पहिलो पाइला सरकारले चाल्नुपर्ने धारणा राखे ।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट