काठमाण्डौ । लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ । सरकारी निकायहरूले प्रभावकारी रूपमा राजस्व उठाउन ध्यान नदिँदा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन छाडेको हो । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४९ अर्ब मात्रै राजश्व उठाएको छ । यो अवधि अर्थात असोज मसान्तसम्ममा सरकारले ३ खर्ब २१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । यद्यपि अघिल्लो आर्थिक वर्षको यो अवधिको तुलनामा सङ्कलित राजस्व झिनो मात्रमा बढेको छ ।
गत आर्थिक वर्षको असोजसम्ममा सरकारले २ खर्ब ४८ अर्ब राजस्व उठाएको तथ्याङ्कले देखाउँछ । अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा राजश्व वृद्धिदर ०।२ प्रतिशतले मात्रै बढ्नुले सरकारी संयन्त्र राजश्व सङ्कलन गर्न तदारुकताका साथ नलागेको प्रस्ट देखिएको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्बको राजस्व सङ्कलनको लक्ष्य लिएको छ । असोज मसान्त सम्ममा राजश्वका कुनै पनि शीर्षकमा उत्साहजनक रूपमा राजस्व सङ्कलन नभएको स्वयं अर्थ मन्त्रालयको तथ्याङ्कले प्रस्ट देखाउँछ ।
अर्थमन्त्रालयका अनुसार असोज मसान्तसम्ममा भन्सार महसुल ७० अर्ब भन्दा बढी उठाउने सरकारले लक्ष्य राखेकोमा ५६ अर्ब ८५ करोड मात्रै सङ्कलन गरेको छ । यस्तै, मूल्य अभिवृद्धि कर ९भ्याट० ९४ अर्ब ११ करोडको लक्ष्य असोज मसान्तसम्मको थियो । जसमा ८१ अर्ब २३ करोड मात्रै उक्त शीर्षकमा राजश्व उठेको छ । समीक्षा अवधिमा अन्तशुल्कतर्फ ४८ अर्ब ६५ करोडको लक्ष्य रहेकोमा ४७ अर्ब ८३ करोड राजश्व सङ्कलन भएको छ । यो शीर्षकमा पनि लक्ष्यअनुसार राजश्व उठाउन सरकारी संयन्त्रहरु चुकेका छन् ।
आयकरतर्फ ७१ अर्ब २२ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएकोमा ४६ अर्ब ९० करोड मात्रै राजश्व सङ्कलन भएको छ । गैरकर तर्फ पनि लक्ष्यअनुसार राजश्व उठेको छैन । अर्थ मन्त्रालयका अनुसार ३५ अर्ब ५२ करोडको लक्ष्य असोज मसान्त सम्म गैर करतर्फ उठाउने रहेकोमा १४ अर्ब ७२ करोड मात्रै सङ्कलन भएको छ ।
पहिलो त्रैमासमा राजस्वका लक्ष्य नभेट्नुले आगामी दिनमा सरकारलाई चालु खर्च धान्न समेत राजश्वले नपुग्ने स्थिति आउन सक्ने खतरा देखिएको छ । अहिले दैनिक सरकारको चालु खर्च झन्डै ३ खर्ब बराबरको छ तर आम्दानी भने दैनिक २ खर्ब ८० अर्बको मात्रै रहेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाउँछ । –न्युज एजेन्सी नेपाल
अर्थ चौतारी ।