काठमाण्डौ । नेपाल सरकारले एमसीसी परियोजनामा काम गर्ने कम्पनीहरूलाई एक वर्षको आयकर छुट दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को २०८२ साउन १८ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०८२/८३ का लागि यस्तो व्यवस्था लागू गरेको हो।
यस निर्णयले एमसिसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण तथा सेवा प्रदायक कम्पनीहरूलाई लाभ पुग्नेछ। उनीहरूले एमसिसी फन्डिङ (नेपाल सरकारको योगदानसहित) बाट आर्जित आम्दानीमा यस वर्ष आयकर तिर्नुपर्ने छैन।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार, यो व्यवस्थाले विशेष परियोजनाहरूको कार्यान्वयन सहज बनाउन मद्दत गर्नेछ। यसबाट ट्रान्समिसन लाइन र सडक सुधारजस्ता पूर्वाधार आयोजनामा संलग्न कम्पनीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने र परियोजनाको गति तीव्र हुने अपेक्षा गरिएको छ।
अर्थ चौतारी ।