काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले प्रभु बैंकमा छापा मारेको छ। बैंकमा भएका शंकास्पद आर्थिक कारोबारसँग सम्बन्धित कागजातहरूको छानबिनका क्रममा शुक्रबार बेलुकी उक्त छापा मारिएको हो।
सीआईबी प्रमुख एआईजी डा. मनोजकुमार केसीका अनुसार आवश्यक कागजातहरू नियन्त्रणमा लिइएका छन् र राष्ट्र बैंकसँग सहकार्य गरेर विस्तृत अनुसन्धान सुरु गरिएको छ।
गम्भीर आर्थिक अपचलनको आरोपमा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन कात्तिक ११ गते ललितपुरबाट पक्राउ परेका थिए।
भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगीको जाहेरी प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दर्ता गराएकी थिइन्।
उक्त जाहेरी गतवर्षको असोज ११ गते सरकारी वकिलको कार्यालयबाट प्रहरी परिसर, काठमाडौंमा पठाइएको भए पनि त्यसबेला अनुसन्धान अघि बढाइएको थिएन। पछि सीआईबीले हस्तक्षेप गरेपछि भट्टचन पक्राउ परेका हुन्।
स्रोतका अनुसार १८ करोड रुपैयाँको ठगीमा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएको र सो प्रकरणमा संगठित अपराधको मुद्दा दायर हुने तयारी भइरहेको छ।
अर्थ चौतारी ।