काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा भोलि (कात्तिक २६ गते, बुधबार) बिहान १० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दैछ।
सभामा बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ।
त्यसैगरी, सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन पारित गरिनेछ।
साधारणसभाले बैंकका सहायक कम्पनीहरू — ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त, र ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेड का एकीकृत वित्तीय विवरण समेत पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने पनि एजेन्डामा समावेश छ।
यसबाहेक, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा व्यवसायिक उद्देश्य थप वा संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा प्रस्तुत हुने भएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १६ गते बुक क्लोज गरिसकेको छ। त्यसैले कात्तिक १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा नाम दर्ता भएका शेयरधनीहरू मात्र सभामा सहभागी र लाभांशका हकदार हुनेछन्।
अर्थ चौतारी ।