काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते ललितपुरको चापागाउँस्थित बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजे वार्षिक साधारणसभा बोलाएको छ।
शेयरधनीलाई लाभांश प्रस्ताव नगरेको यस कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्तावलाई मुख्य एजेण्डा बनाएर साधारणसभा बोलाएको हो। साथै सो सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।
त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ। कम्पनीको अधिकृत र जारी पूँजी सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र आवश्यकता अनुसार पुनः संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस ६ गतेसम्म कायम शेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन सक्नेछन्।
अर्थ चौतारी ।