काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रको सुरक्षा र लगानीकर्ताको मनोबल उच्च नभएसम्म मुलुकले परिकल्पना गरेको आर्थिक समृद्धि र सुशासन प्राप्त हुन नसक्ने बताएका छन्। बुधबार नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल’ कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले निजी क्षेत्रको सुरक्षा र सम्मानलाई सरकारले प्राथमिक एजेन्डा बनाउनुपर्नेमा जोड दिए ।
गत भदौको घटनाले निजी तथा सार्वजनिक संरचनामा पुर्याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष पाण्डेले भने– “हालैका घटनाहरूले निजी क्षेत्रको मनोबल गिराएको छ। क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि अर्बौँ लगानी आवश्यक छ, जुन राज्यको स्रोतले मात्र सम्भव छैन। त्यसैले निजी क्षेत्रको लगानी आकर्षित गर्न उनीहरूको सुरक्षाको प्रत्याभूति हुनु अनिवार्य छ।” उनले लगानीकर्ताको आत्मविश्वास नबढेसम्म सुशासन र समृद्धिको लक्ष्य अधुरो रहने उल्लेख गरे ।
अध्यक्ष पाण्डेले युवा जेनजी पुस्ताले उठाएका सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारणका मागहरू निजी क्षेत्रकै पुरानो माग भएको बताए । “यदि यी मागहरू पूरा भएमा र नीतिगत स्पष्टता आएमा मात्रै निजी क्षेत्रले ढुक्क भएर काम गर्न सक्छ, जसले अन्ततः मुलुकको आर्थिक विकासमा टेवा पुर्याउँछ,” उनले भने।
आर्थिक विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गर्दै अध्यक्ष पाण्डेले आगामी १० वर्षभित्र नेपालको अर्थतन्त्रलाई वर्तमान ४५ अर्ब डलरबाट बढाएर १०० अर्ब डलर पुर्याउन सकिने बताए । यो लक्ष्य प्राप्तिका लागि लगानीकर्ताको मनोबल उच्च हुनुपर्ने र नीतिगत स्थायित्व हुनुपर्ने उनको सर्त थियो । “स्वदेशी लगानीकर्ताको मनोबल उच्च भए मात्र विदेशी लगानी भित्रिन्छ,” उनले भने
अध्यक्ष पाण्डेले निजी क्षेत्रलाई समृद्धिको सारथी को रूपमा हेर्न र उद्योग–व्यवसायमाथि हुने कुनै पनि प्रकारका आक्रमणहरू रोक्न आग्रह गरे। उनले नीतिगत स्थिरता र लगानीको सुरक्षाको प्रत्याभूति भएमा परिसंघ सरकारसँग जस्तोसुकै सहकार्य गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।
अर्थ चौतारी ।