काठमाण्डौ । नेपालको आर्थिक उन्नतिको मुख्य आधार पर्यटन व्यवसाय मात्र रहेको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले बताएका छन्। नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले पर्यटन व्यवसाय नफस्टाएसम्म देशको समृद्धि सम्भव नभएको धारणा राखेका हुन् ।
बागमती प्रदेशका १३ वटै जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहेको चर्चा गर्दै उनले व्यवसायीका समस्या समाधान गर्न र काम गर्ने वातावरण बनाउन प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे। पर्यटन क्षेत्र ऐन–कानुन र राजनीतिक गतिविधिका कारण संवेदनशील बनेको भन्दै उनले व्यवसायीलाई परेका अप्ठ्यारामा सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जान श्रेष्ठले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन नहुँदा पर्यटन क्षेत्रमा ठूलो नोक्सानी भइरहेको गुनासो गरे। विमानस्थल बनेपछि निजी क्षेत्रले होटल र पूर्वाधारमा ठूलो लगानी गरे पनि उडान नहुँदा ती लगानी जोखिममा परेको उनले बताए।
उनले पर्यटनलाई उद्योग सरहको कानुनी मान्यता दिन र निजी क्षेत्रको लगानी सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरे। दिगो र गुणस्तरीय पर्यटन विकासका लागि भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले हवाई टिकटमा लगाइएको भ्याटका कारण नेपालको पर्यटन प्रतिस्पर्धामा कमजोर बनेको टिप्पणी गरे। नेपालमा टिकट महँगो हुँदा पर्यटकले भारतबाट टिकट काट्ने गरेको र यसले स्वदेशी राजस्व बाहिरिएको उनले बताए। उनले भ्याट हटाएर ३ देखि ५ प्रतिशत पर्यटन कर लगाउन माग गर्दै हालको अवस्थामा लक्जरीभन्दा मध्यमस्तरको पर्यटनमा ध्यान दिनु आवश्यक रहेको औंल्याए।
यस्तै नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्यटन प्रवद्र्धनमा कमजोरी रहेको बताउँदै विदेशस्थित नेपाली राजदूतलाई सक्रिय र जिम्मेवार बनाउन सुझाव दिए। उनले पर्यटन विकासका लागि नयाँ क्षेत्रको पहिचान गर्नुपर्ने र संघले माउण्टेन एड्भेन्चर टुरिजम सम्बन्धी विश्वविद्यालय स्थापनाको तयारी गरिरहेको जानकारी दिए।
अर्थ चाैतारी ।