काठमाण्डौ । कलंकी मालपोत कार्यालयले जलेका १६ हजार श्रेस्ता बनाएको छ । जेनजी आन्दोलनका क्रममा कार्यालयसँगै जलेर नष्ट भएको श्रेस्तामध्ये सो बराबरको जग्गाको श्रेस्ता कायम गरिएको प्रमुख मालपोत अधिकृत रविन ढकालले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा उक्त कार्यालय अन्तर्गत रहेका अढाईदेखि तीन लाख कित्ता जग्गाको श्रेस्ता जलेको थियो । उक्त श्रेस्ता कायम गर्न कार्यालयले सार्वजनिक सूचना नै जारी गरेर आह्वान गरिसकेको छ ।
प्रमुख मालपोत अधिकृत ढकालका अनुसार सुरुका दिनमा कार्यालयले १२ घण्टासम्म सेवा दिएर श्रेस्ता कायम गरेकोमा अहिले केही चाप कम भएको छ । खासगरी जग्गाको किनबेच गर्न, बैंकबाट ऋणको प्रक्रियाका लागि रोक्का तथा फुकुवा गर्न तथा विदेश जाने प्रयोजनको लागि बैंकिङ ऋणको व्यवस्थाका लागि श्रेस्ता कायम गर्ने क्रम रहेको छ ।
अहिलेकै दरमा श्रेस्ता कायम हुँदै जाने हो भने तीन वर्षभित्र जलेका सबै जग्गाको नयाँ श्रेस्ता कायम हुने अवस्था रहेको उनको भनाइ छ । जलेको श्रेस्ता कायम गर्न सुरुमा १० थरी कागजात चाहिने भनिएकोमा भूमि व्यवस्था मन्त्रालयले सहजीकरण गरेर एलआरआईएमबीएस तथा डीएमएस प्रणालीमा प्रमाण भिडाएर सिधै श्रेस्ता कायम गर्न सकिने व्यवस्था गरिएको छ ।
अर्थ चाैतारी ।