बाँके । लागुऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाण्डौका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाको निर्देशनमा तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जका शाखा प्रमुख असई नवीनकुमार शाहीको नेतृत्वमा खटिएको टोलीले कारबाही गरेको हो ।
बुधबार बर्दिया जिल्लाको गुलरिया नगरपालिका–११ लालपुर नजिकै शंकास्पद लागुऔषध (खैरो हेरोइन) को खरीदबिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएकाे टाेलिले चेकजाँच गर्न खोज्दा फिरोज खान भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको थियो ।
प्रहरीका अनुसार प्रहार गरिएका दुई राउन्डमध्ये एक राउन्ड खानको दाहिने खुट्टामा लागेको प्रहरीले जनाएको छ । गोली लागेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिको पहिचान फिरोज खान भएको र उनले लगाएको पाइन्टको दाहिने खल्तीभित्र लुकाईछिपाई राखिएको अवस्थामा लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । बरामद गरिएको खैरो हेरोइनको शुद्ध तौल २६६ ग्राम ५६० मिलिग्राम रहेको छ । साथै घटनास्थलबाट मोबाइल फोन थान–३ समेत बरामद गरिएको छ ।
घाइते अवस्थामा पक्राउ परेका खानलाई आवश्यक उपचारपछि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको प्रहरीले जनाएको छ ।
अर्थ चाैतारी ।