रुपन्देही । रुपन्देहीको सियारीमा सञ्चालित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड र विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनलबीच व्यवस्थापन सम्झौता भएको छ । यो सम्झौतासँगै रिसोर्ट अब ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ को ब्रान्ड नाममा स्तरोन्नति भई सञ्चालन हुनेछ ।
काठमाण्डौ उपत्यका बाहिर म्यारियट इन्टरनेशनलको यो पहिलो र एकमात्र उपस्थिति भएको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । सन् २०१८ देखि रुपन्देहीको सियारी वडा नं. ५ मा सञ्चालनमा रहेको यो रिसोर्ट विगत तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालन भइरहेको छ ।
लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पालाई नेपालकै पहिलो र एकमात्र ‘वाटर रिसोर्ट’ का रूपमा विकास गरिँदैछ । यसमा भविष्योन्मुख र उच्च प्रविधियुक्त सुविधाहरू हुनेछन् । रिसोर्टमा अत्याधुनिक म्युजिकल फाउन्टेन (सङ्गीतमय फोहोरा), थ्रीडी वाटर स्क्रिन, मोटर बोटिङ र मिनी क्रुजको सुविधा उपलब्ध हुनेछ । साथै, यहाँ नेपालमै पहिलो पटक ‘वाटर रेस्टुरेन्ट’ र ‘वाटर स्पा’ को अवधारणा ल्याइने विज्ञप्तिमा उल्लेख छ ।
विश्वव्यापी जलवायु चुनौतीलाई मध्यनजर गर्दै रिसोर्टलाई ‘ग्रीन सर्टिफाइड (गोल्ड) वेलनेस रिट्रीट र इको-रिसोर्ट’ का रूपमा डिजाइन गरिएको छ । यो नेपालकै पहिलो ‘अर्गानिक फाइभ-स्टार वेलनेस लक्जरी रिसोर्ट’ हुनेछ, जसले प्राकृतिक चिकित्सा (नेचुरोथेरापी) र दिगो स्वास्थ्यलाई प्रवद्र्धन गर्नेछ । रिसोर्टले वातावरण संरक्षण, ऊर्जा बचत र दिगो विकासका अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्ने प्रतिबद्धता जनाएको छ ।
भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको गरिमालाई सम्मान गर्दै रिसोर्ट परिसरमा ‘बुद्ध थिम पार्क’ निर्माण गरिने विज्ञप्तिमा उल्लेख छ । जसमा मिनी स्तूपहरू, मिनी बुद्ध संग्रहालय, ध्यान केन्द्र र सांस्कृतिक केन्द्रहरू रहनेछन् । यसका अतिरिक्त, रिसोर्टलाई ‘मल्टी-स्पेशालिटी रिसोर्ट’ का रूपमा विकास गरी नेपालमा खेलिने सबै मुख्य खेलहरूका लागि विश्वस्तरीय पूर्वाधार तयार गरिनेछ, जसले यस क्षेत्रलाई ‘स्पोर्ट्स टुरिज्म’ (खेलकुद पर्यटन) को हब बनाउने लक्ष्य राखेको छ ।
रिसोर्टले अन्तर्राष्ट्रिय स्तरको सेवा सुनिश्चित गर्न २७ वर्षभन्दा बढीको अनुभव भएका विजयनान्मारन सन्मुगमलाई सञ्चालन तथा सम्पत्ति विकास उपाध्यक्ष मा नियुक्त गरेको छ । सम्झौता कार्यक्रममा रिसोर्टका तर्फबाट अध्यक्ष दीपक पाण्डे र प्रबन्ध निर्देशक रोशन कुमार न्यौपानेको उपस्थिति थियो भने म्यारियट इन्टरनेशनलका तर्फबाट एशिया प्रशान्त क्षेत्रका प्रमुख सञ्चालन अधिकृत नीरज गोविन्द लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।
यस परियोजनाले स्थानीय उत्पादनको प्रवद्र्धन र रोजगारी सिर्जना गरी स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
अर्थ चाैतारी ।