काठमाण्डौ । जानकी इनर्जी प्राइभेट लिमिटेडले ब्याट्री स्टोरेज सिस्टम सहितको सोलार आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले धनुषाको धनुषाधाम स्थित रघुनाथपुरमा यो आयोजना निर्माणको तयारी गरेको हो।
कम्पनीले आयोजना निर्माणको लागि सर्भे लाईसेन्सको माग गर्दै विद्युत विकास विभागमा गत मङ्सिर १० गते आवेदन दिएको छ। यस आयोजना क्षमता ६ मेगावाटको हुने छ । आयोजनामा ५.६२५ मेगावाट घण्टाको ब्याट्री इनर्जी स्टोरेज पनि रहने छ।
निर्माण सम्पन्न भएपश्चात यो आयोजना सो क्षेत्र कै ब्याट्री स्टोरेजसहितको प्रमुख आयोजना हुने छ। यो परियोजनाले ५,००० भन्दा बढी घरधुरीलाई नियमित तथा विश्वसनीय स्वच्छ ऊर्जा उपलब्ध गराउने अपेक्षा गरिएको छ। सूर्यको किरणबाट उत्पादित विद्युत्लाई ब्याट्रीमा भण्डारण गरी आवश्यक समयमा (विशेष गरी साँझ र राति) वितरण गर्न सकिने भएकाले यो परियोजना नेपालको मौसमी जलविद्युत्मा निर्भरताको समस्यालाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। परियोजनाले कार्बन उत्सर्जनमा उल्लेखनीय कमी ल्याउने र राष्ट्रिय ग्रिडमा निर्भरता घटाउने बताइएको छ।
यसले वातावरण संरक्षणमा ठूलो योगदान पुग्नुका साथै भविष्यका लागि नवीकरणीय ऊर्जा विकासको नमुना परियोजनाको रूपमा स्थापित हुने विश्वास गरिएको छ। यसबाहेक, परियोजनाको निर्माण तथा सञ्चालन चरणमा स्थानीय स्तरमा रोजगारी सिर्जना हुने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। निर्माण सामग्री, प्राविधिक काम, सञ्चालन तथा मर्मतसम्भारमा स्थानीय बासिन्दालाई प्राथमिकता दिइने बताइएको छ।
कम्पनीका अध्यक्षमा इन्जिनियर तपेन्द्र चन्द रहेका छन् । अन्य संचालकमा प्रहर्ष मल्ल, स्मृति पौडेल, निश्चल सिंह भण्डारी, स्निग्धा शाह रहेका छन् । डा. गोबिन्द राज पोखरेल र मनोज पौडेल कम्पनीको सल्लाहकार छन् ।
अर्थ चाैतारी ।