काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सामान्य बढेको छ। कम्पनीले सार्वजनिक गरेको साउनदेखि पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा २८ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन भएको छ।
यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १.११ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पुससम्म कम्पनीले २८ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
अघिल्लो वर्षको तुलनामा यस अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन बढेको छ। पुस मसान्तसम्म कम्पनीले २ अर्ब २६ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६४ प्रतिशतले बढी हो।
अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यद्यपि, कम्पनीको कुल बीमाशुल्क आर्जन भने ४.१२ प्रतिशतले घटेर २ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ कायम भएको छ।
चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषको आकारमा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष पुससम्म ८ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ रहेको जीवन बीमा कोष २३.९० प्रतिशतले बढेर ११ अर्ब ४ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
५ अर्ब ३ करोड १२ लाख रुपैयाँ शेयर पूँजी रहेको कम्पनीको शेयर प्रिमियममा १ अर्ब ३० करोड २२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ६१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५४ करोड ८५ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २० लाख रुपैयाँ रहेको छ।
समिक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (इपीएस) ११ रुपैयाँ ३० पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २८ पैसा रहेको छ।
अर्थ चाैतारी ।