काठमाण्डौ । मुलुकमै पहिलोपटक रिसर्च युनिभर्सिटीको अवधारणामा स्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट)ले आगामी माघ २५ गते आफ्नो पहिलो दीक्षान्त समारोह आयोजना गर्ने भएको छ। मकवानपुरको चित्लाङस्थित आफ्नै शैक्षिक परिसरमा हुने समारोहमा पहिलो ब्याचका तीन स्नातक दीक्षित हुँदै छन् ।
समारोहमा विश्वविख्यात शिक्षाविद् एवं उच्च शिक्षाका विज्ञ डा.जमिल साल्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। विश्व बैंकका पूर्व उच्च शिक्षा संयोजक डा. साल्मीसँग चिली र अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयमा चार दशक प्राध्यापन गरेको अनुभव छ।
यस्तै, समारोहमा क्यानडाको म्याकगिल विश्वविद्यालयकी पूर्व उपकुलपति प्रा. सुजन फोर्टियर र न्यानो प्रविधिका विश्वप्रसिद्ध वैज्ञानिक प्रा. सीराम रामकृष्ण विशेष अतिथिका रूपमा उपस्थित हुँदैछन्।
विश्वविद्यालयका बाहय मामिला तथा स्रोत परिचालन संयोजक राजिब सुब्बाका अनुसार दीक्षान्तको सभापतित्व बोर्ड अफ ट्रस्टिजका अध्यक्ष एवं उद्यमी पद्म ज्योतिले गर्नेछन्। समारोहमा उद्योग र राष्ट्रिय अर्थतन्त्रको विकासमा विश्वविद्यालयको योगदानबारे चर्चा गरिनेछ।
२०७९ मा ऐन जारी भई सञ्चालनमा आएको यो विश्वविद्यालय परम्परागत शिक्षणभन्दा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित छ। हाल यहाँ जैविक कृषि, कृत्रिम बौद्धिकता, तथ्यांक विज्ञान र दिगो पूर्वाधार जस्ता विषयमा स्नातकोत्तर र विद्यावारिधि तहमा ६६ विद्यार्थी अनुसन्धानरत छन्।
अर्थ चाैतारी ।