काठमाण्डौ । हाल सञ्चालनमा रहेका ४ वटा लघु निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा २ अर्ब ५० करोड रुपैयाँ बढी लगानी गरेको देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२ /८३ को पहिलो त्रैमाससम्म लघु निर्जीवन बीमकले कुल २ अर्ब ५० करोड ९१ लाख रुपैयाँ लगानी गरेका हुन् ।
सबैभन्दा लगानी गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । यो कम्पनीले विभिन्न क्षेत्रमा ८१ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ । दोस्रोमा स्टार माइक्रोले ५८ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । प्रोटेक्टिभ माइक्रोले ५६ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । यसैगरी ट्रस्ट माइक्रोले ५४ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ ।
चार निर्जीवन लघु बीमकको सर्वाधिक लगानी बैंकहरुको मुद्दति निक्षेपमा रहेको देखिन्छ । ‘क’ वर्गका बैंकहरुको निर्जीवन लघु बीमकले १ अर्ब ९८ करोड ४ लाख रुपैयाँ, ‘ख’ वर्गका बैंकहरुमा १४ करोड ६१ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्तीय संस्थाहरुमा ५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरेको देखिन्छ ।
त्यस्तै निर्जीवन लघु बीमकहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ३१ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ । जसमा स्टार माइक्रो इन्स्योरेन्सले लगानी गरेको छैन् ।
बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ७३ लाख रुपैयाँ रहेको छ जसमा नेपाल माइक्रो इन्स्योरेन्स र ट्रष्ट माइक्रोले मात्रै लगानी गरेका छन् ।
यता, यी चार कम्पनीहरुले नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा ९० लाख रुपैयाँ लगानी गरेका छन् । जसमा प्रोटेक्टिभ माइक्रोले लगानी गरेको छैन् ।

अर्थ चाैतारी ।