काठमाण्डाै । चालु आर्थिक वर्षको पहिलो ७ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.० प्रतिशत (रु.२२१ अर्ब ८४ करोड) ले बढी रु.५७१९ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.६ प्रतिशत (रु.२८३ अर्ब ४६ करोड) ले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.८ प्रतिशतले बढेको छ ।
२०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.८ प्रतिशत र ३६.२ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ४.२ प्रतिशत, विकास बैंकहरूको ३.० प्रतिशत
र वित्त कम्पनीहरूकोकर्जा प्रवाह १.८ प्रतिशतले बढेको छ ।
२०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत रहेको छ । २०८१ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.४ प्रतिशत र ६५.१ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०८२÷८३ को सात महिनामामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा १०.६ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ४.८ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.४ प्रतिशत र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.९ प्रतिशतले घटेको छ ।
अर्थ चाैतारी ।