काठमाण्डौ । इन्फिनिक्सले नेपालमा नयाँ प्रवेशस्तरको स्मार्टफोन ‘स्मार्ट २०’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो स्मार्टफोनमा कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित सञ्चार सुविधा, लामो समय टिक्ने ब्याट्री, सहज कार्यसम्पादन तथा टिकाउ डिजाइन उपलब्ध गराइएको छ।
दैनिक प्रयोगका लागि भरपर्दो स्मार्टफोन खोज्ने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको स्मार्ट २० मा एआईमार्फत आवाज स्पष्ट बनाउने प्रविधि, उच्च रिफ्रेस रेटको डिस्प्ले, शक्तिशाली ब्याट्री तथा विभिन्न स्मार्ट सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ। यो स्मार्टफोन ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भेरियन्टमा १९ हजार ९ सय ९९ रुपैयाँ तथा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टमा २१ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ।
स्मार्ट २० मा ‘प्योर भ्वाइस’ प्रविधि समावेश गरिएको छ, जसले प्रयोगकर्ताको आवाजलाई पहिचान गरी वरिपरिको अनावश्यक आवाज कम गर्दै स्पष्ट कुराकानी गर्न सहयोग गर्छ। भीडभाड, कार्यालय वा सार्वजनिक यातायातमा समेत स्पष्ट रूपमा फोनमा कुराकानी गर्न सकिने कम्पनीको दाबी छ। फोनमा ६.७८ इन्चको पञ्च–होल डिस्प्ले दिइएको छ, जसले १२० हर्ज रिफ्रेस रेट समर्थन गर्छ। यसले स्क्रोलिङ, टच प्रतिक्रिया तथा भिडियो हेर्ने अनुभवलाई अझ सहज बनाउने कम्पनीले जनाएको छ।
यसमा मिडियाटेक हेलियो जी८१ अल्टिमेट प्रोसेसर प्रयोग गरिएको छ। दैनिक कार्य, मल्टिटास्किङ तथा मनोरञ्जनका लागि सहज कार्यसम्पादन दिने यो स्मार्टफोनले ४८ महिनासम्म सहज सञ्चालनको प्रमाणपत्र प्राप्त गरेको कम्पनीको भनाइ छ। स्मार्ट २० मा ५,२०० एमएएच क्षमताको ब्याट्री राखिएको छ। ७.७ मिलिमिटरको पातलो डिजाइनमा उपलब्ध यो फोनले दिनभर सहज रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
फोनमा ‘अल्ट्रालिङ्क फ्री कल’ सुविधा पनि समावेश गरिएको छ। यसमार्फत मोबाइल नेटवर्क उपलब्ध नभएको अवस्थामा समेत करिब एक किलोमिटरसम्म कल तथा सन्देश आदानप्रदान गर्न सकिने कम्पनीको दाबी छ। यसका साथै स्मार्ट २० मा एआई राइटिङ, गीत पहिचान गर्ने सुविधा, स्क्यान–टु–डकुमेन्ट, स्पिकर क्लिनर, वान–ट्याप क्वेरी तथा फोल्याक्स ५.० एआई सहायकजस्ता सुविधा पनि उपलब्ध छन्।
फोनमा आईपी६४ स्तरको पानी तथा धुलो प्रतिरोध क्षमता, भिजेको वा चिल्लो हातले समेत सहज सञ्चालन गर्न सकिने सुविधा तथा १.५ मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने संरचना समावेश गरिएको कम्पनीले जनाएको छ।
इन्फिनिक्स स्मार्ट २० नेपालभरका आधिकारिक विक्रेता तथा स्मार्टफोन बिक्री केन्द्रहरूमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ। इन्फिनिक्स विश्वव्यापी स्मार्टफोन ब्रान्ड हो। कम्पनीले नवीन प्रविधि, आकर्षक डिजाइन तथा एआईमा आधारित स्मार्ट अनुभवमार्फत युवा पुस्तालाई लक्षित उत्पादनहरू बजारमा ल्याउँदै आएको जनाएको छ।
अर्थ चाैतारी ।