काठमाण्डौ । यही चैत २२ गते हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावालीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको छ ।
आज नै २ः३० बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन हुनेछ । दर्ता भएका प्रस्तावका सूचनालाई चैत २२ गते हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावले प्रस्ताव र समर्थकले समर्थन गर्ने र सामूहिक छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ । हिजो सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेको सो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।
प्रतिनिधिसभामा रास्वपा कै बहुमत रहेकोले सभामुखमा अर्याल निर्वाचित हुने निश्चित छ । अर्याल काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन् ।
अर्थ चाैतारी ।