काठमाण्डौ । प्रतिनिधि सभा निर्वाचनपछि हालै मात्र नयाँ सरकार गठन भएको छ । झन्डै दुई तिहाई मत ल्याएको रास्वपाले अहिले सरकार चलाइ रहेको छ । सरकारले आगामी पाँच वर्षभित्र मुलुकको कुल गार्हस्थ्य उत्पादन लाई १०० अर्ब अमेरिकी डलर बराबर पुर्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरिसकेको छ ।
रास्वपाले औसत आर्थिक वृद्धिदर ७ प्रतिशत कायम गर्ने, प्रतिव्यक्ति आय दोब्बर बढाएर कम्तीमा ३ हजार अमेरिकी डलर पु¥याउने प्रतिबद्धता जनाएको छ। मध्यावधि निर्वाचनपछि सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राखेका छन्।
यसबीच, पछिल्ला आर्थिक सूचकहरूले अर्थतन्त्रमा केही सकारात्मक संकेत देखाएका छन् । बिहीबार मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/ ८३ को आठ महिना (२०८२ फागुनसम्म) को तथ्यांक अनुसार आर्थिक सूचकहरूले समग्र अर्थतन्त्र स्थिर र सुधारोन्मुख दिशामा रहेको संकेत गरेको छ ।
वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.६२ प्रतिशतमा सीमित रहेको छ, जसले मूल्यवृद्धि नियन्त्रणमा रहेको देखाउँछ । कुल विदेशी विनिमय सञ्चिति ३४१३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ, जुन २३ अर्ब ८ करोड अमेरिकी डलर बराबर हो। यो सञ्चिति करिब १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।
चालु खाता ५५२ अर्ब ८५ करोड रुपैयाँ र शोधनान्तर स्थिति ६५८ अर्ब ३५ करोड रुपैयाँ बचतमा रहेको छ, जसले बाह्य क्षेत्र सन्तुलित रहेको देखाउँछ । विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ । नेपाली रुपैयाँमा ३७.७ प्रतिशत र अमेरिकी डलरमा ३१ प्रतिशतले बढेको विप्रेषण फागुन महिनामा मात्रै १८८ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
व्यापारतर्फ निर्यात २०.८ प्रतिशत र आयात १२.५ प्रतिशतले बढेको छ । यस्तै, सरकारको कुल खर्च ९२६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने राजस्व संकलन ७४७ अर्ब २८ करोड रुपैयाँ रहेको छ । मौद्रिक सूचकहरूमा पनि सुधार देखिएको छ। विस्तृत मुद्राप्रदाय ६.७ प्रतिशतले वृद्धि भएको छ भने वार्षिक आधारमा १४.५ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशतले बढेको छ।
त्यसैगरी, अन्तरबैंक दर २.६८ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको ब्याजदर २.४७ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३.४५ प्रतिशत र कर्जाको औसत ब्याजदर ६.९० प्रतिशत रहेको छ ।
हेर्नुहोस् पूर्णपाठ
Skip to PDF content
अर्थ चाैतारी ।