काठमाण्डौ । नेकपा एमालेको विरोध कार्यक्रममा भाग लिन गएपछि आफूलाई डिजिटल यौन हिंसा भएको भन्दै अमिशा पराजुलीले दिएको उजुरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
२० वर्षीया अमिशालाई फेसबुकमा अश्लिल कमेन्ट गरेको आरोपमा रौतहटको गुजरा नगरपालिका–२ घर भएका २४ वर्षीय अभिषेक चौधरीलाई पक्राउ गरिएको साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले रातोपाटीलाई बताए ।
रौतहटबाट पक्राउ गरेर उनलाई काठमाण्डौ ल्याएको पुष्टि गर्दै एसपी गिरीले भने– ‘आइतबार अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’
प्रारम्भिक सोधपुछको क्रममा चौधरीले आफूले कमेन्ट गरेको स्वीकार गरेका छन् । अमिशालाई यौन हिंसाजन्य कमेन्ट गर्ने अन्य आरोपीहरूको विवरण पनि साइबर ब्युरोले मेटा (फेसबुक)सँग मागेको एसपी गिरीले बताए ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीलाई पक्राउ गरेको विरोधमा सड्क प्रदर्शनमा सहभागी भएकै कारण आफूमाथि डिजिटल यौन हिंसा भएको भन्दै अमिशाले चैत १८ मा साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।
अर्थ चाैतारी ।