logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • पूर्वसभामुख महरासहित भन्सार कर्मचारीविरुद्ध सात करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा

    पूर्वसभामुख महरासहित भन्सार कर्मचारीविरुद्ध सात करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा

    390
    SHARES
    पूर्वसभामुख महरासहित भन्सार कर्मचारीविरुद्ध सात करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा

    काठमाण्डौ । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र भन्सारका उच्च अधिकारीहरूसहितका व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।



    सुन तस्करहरूसँग करोडौँ लाभ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका पदाधिकारी र कर्मचारीले अरबौँ राजस्व चुहावट गरेको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गर्दा यो तथ्य बाहिर आएको हो। आयोगले आज विशेष अदालतमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको छ। अख्तियारको अनुसन्धानले देखाएअनुसार २०७९ पुस १० गते दुबईबाट ‘फ्लाई दुबई’ को उडान (एफजेड ०५८७) मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान भेप ल्याएका थिए। ती भेपभित्र बहुमूल्य सुन लुकाइएको थियो।

    भन्सारमा जाँच गर्ने क्रममा तत्कालीन एक्स-रे स्क्रिनर (नायब सुब्बा) ले उक्त ब्यागेजमा शङ्कास्पद वस्तु देखेर रेड च्यानल (आरसी) मा पठाएका थिए। एक्स-रे मेसिनले धातुको मोटाइ र रङ छुट्याउन सक्ने भए पनि आरसी क्षेत्रमा खटिएका भन्सार अधिकृत सुवेन्द्र श्रेष्ठलगायतका कर्मचारीले सुन भएको थाहा हुँदाहुँदै भौतिक जाँच गरेनन्। बरु पछि अनुकूल समयमा ती सामान सट्टापट्टा गरी लैजाने नियतले जफत गर्ने निर्णय गरे।

    यति मात्र होइन, जफत गरिएको सामान तोकिएको गोदाममा नराखी लामो समयसम्म प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठको कार्यकक्षमै राखियो। त्यही अवधिमा सुन तस्कर समूहसँग अस्वाभाविक भेटघाट र टेलिफोन सम्पर्क भयो। अझ गम्भीर कुरा त, प्रमाण नष्ट गर्ने उद्देश्यले सुन ल्याउने चिनियाँ नागरिकको राहदानीसमेत उनैलाई फिर्ता गरियो।

    सामान २०७९ माघ २९ गते मात्र लिलामी शाखामा पठाइयो। त्यहाँ पुगेपछि ती सामानलाई सिसिटिभीको निगरानी नपर्ने ठाउँमा सारियो। सुरक्षा गार्ड निर्मलकुमार विक र नायब सुब्बा मधुसुदन पोखरेलको मिलेमतोमा एउटा भेप निकालेर कोटेश्वरको सुनचाँदी पसलमा परीक्षण गर्दा ९९.६ लाल सुन रहेको पुष्टि भयो र त्यसबाट सुनको सिक्रीसमेत बनाइयो।

    यस प्रकरणमा राजनीतिक संलग्नता पनि उत्तिकै डरलाग्दो देखिएको छ। २०७९ पुस १० गतेदेखि नै पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल (रेशम महरा) ले चिनियाँ नागरिक दावा छिरिङ, निमा गुरुङलगायतसँग मिलेर अस्वाभाविक चलखेल सुरु गरेका थिए। उनीहरूले भन्सार विभागका प्रमुख प्रशासक अरुण पोखरेललगायतलाई प्रभावमा पारी ती सामान भन्सारबाट निकाल्न पटक-पटक भेटघाट र फोन सम्पर्क गरेको अनुसन्धानबाट खुलेको छ।

    उनीहरूको योजनाअनुसार गोदामबाट सुन भएका भेप निकालेर सुन नभएका भेप राखियो। अनि आफ्नो अपराध लुकाउन ती सामान लिलाम भएको देखाइयो। लिलामी शाखाका नायब सुब्बा रेवन्त खड्का र व्यापारी दिनेश बस्नेतले भारतीय नागरिकहरूमार्फत ओटुस्थित पशुपति सुनचाँदी पसलबाट उक्त सुन बिक्री गराए।

    सुन बिक्रीबाट प्राप्त अवैध रकम दीपिका थापा, प्रेरणा थापा, ललिता थापा र ‘डेक्सटर ट्राभल्स एन्ड टुर्स प्रा.ली.’ को खातामा जम्मा गरियो। साथै, रामकेशव थापा क्षेत्री र अमृत कार्कीको नाममा जग्गा खरिद गरी सम्पत्तिको व्यवस्थापनसमेत गरियो। यसरी कुल ८ हजार ४८० दशमलव ५१ ग्राम सुनबापत हुन आउने सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बराबरको सम्पत्ति हिनामिना गरेको पुष्टि भएपछि अख्तियारले संलग्न सबैविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    Press-Release-२०८२-१२-२६-कृष्ण-बहादुर-महरासमेत


    अर्थ चाैतारी
  • विहिबार, २६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट