काठमाण्डौ । सरकारले सार्वजनिक खरिद ऐन, २०६३ लाई समसामयिक परिमार्जन गर्नका लागि संशोधनको प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ‘सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ को प्रारम्भिक मस्यौदा तयार पारी सरोकारवालाहरूसँग सुझाव माग गरेको हो।
कार्यालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनका लागि उक्त मस्यौदामाथि राय–सुझाव माग गरेको हो।
जारी सूचनाअनुसार सार्वजनिक खरिद प्रक्रियासँग सम्बन्धित विज्ञ, सरोकारवाला निकाय तथा सर्वसाधारणले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराइसक्नुपर्नेछ ।
सुझाव कार्यालयको इमेल ठेगाना legal@ppmo.gov.np मा पठाउन सकिनेछ । सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनका लागि ऐन संशोधन गर्न लागिएको छ।

अर्थ चाैतारी ।