logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक–सिल’ प्रयोग गर्न नपाइने, लेबलिङमा कडाइ

    पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक–सिल’ प्रयोग गर्न नपाइने, लेबलिङमा कडाइ

    689
    SHARES
    पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक–सिल’ प्रयोग गर्न नपाइने, लेबलिङमा कडाइ

    काठमाण्डौ । सरकारले बजारमा उपलब्ध हुने पिउने पानी (बोतल र जार) को गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्न नयाँ नियम लागू गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै पानीको बोतलको बिर्कोमा प्रयोग गरिने थप प्लास्टिकको ‘नेक–सिल’मा पूर्ण प्रतिबन्ध लगाएको छ ।



    वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वातावरण विभाग र नेपाल बोतल वाटर उद्योग सङ्घका प्रतिनिधिहरूको संयुक्त बैठकको निर्णयअनुसार यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।

    साथै अबदेखि पानीको बोतलको बिर्को सिल गरिसकेपछि त्यसको माथि थप प्लास्टिकको ‘नेक–सिल’ वा बाह्य प्लास्टिक लेयर राख्न पाइने छैन । यसको सट्टा उत्पादकले आफ्नो पहिचान खुल्ने गरी बोतलको बिर्कोमै अनिवार्य रूपमा ‘एम्बुसिङ’ , स्क्रिन प्रिन्ट वा लेजर प्रिन्ट गर्नुपर्नेछ। यो व्यवस्था पूर्ण रूपमा लागू गर्न उद्योगीहरूलाई ३५ दिनको समयसीमा दिइएको छ ।

    पिउने पानीको जारमा पनि अबदेखि अनिवार्य रूपमा एम्बुसिङ वा स्क्रिन प्रिन्टमार्फत लेबलिङ गर्नुपर्ने उल्लेख छ । जारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्राप्त अनुज्ञापत्र नम्बर र उत्पादक कम्पनीको नाम, ठेगाना वा लोगो स्पष्ट देखिने गरी राख्नुपर्ने व्यवस्था गरिएको छ ।

    नयाँ उत्पादन हुने जारको हकमा यो व्यवस्था तत्काल लागू हुनेछ भने पुराना उत्पादकहरूलाई यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न ६० दिनको समय उपलब्ध गराइएको छ ।

    नयाँ नियमको पालना भए–नभएको अनुगमन गर्न वाणिज्य विभाग, वातावरण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त टोली परिचालन गर्नेछन् । वातावरणीय प्रदूषण कम गर्ने र उपभोक्तालाई गुणस्तरीय पानीको सुनिश्चितता प्रदान गर्ने उद्देश्यले यो कदम चालिएको विभागले जनाएको छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यससम्बन्धी थप विस्तृत प्राविधिक मापदण्डहरू चाँडै जारी गर्ने सूचनामा उल्लेख छ।

    m


    अर्थ चाैतारी
  • सोमबार, ३० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट