logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • विद्यालयको १० लाखभन्दा बढी रकम हिनामिना: ८ जनाविरुद्ध आरोपपत्र दायर

    विद्यालयको १० लाखभन्दा बढी रकम हिनामिना: ८ जनाविरुद्ध आरोपपत्र दायर

    221
    SHARES
    विद्यालयको १० लाखभन्दा बढी रकम हिनामिना: ८ जनाविरुद्ध आरोपपत्र दायर

    सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ स्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको आर्थिक हिनामिना प्रकरणमा ८ जनाविरुद्ध विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरेको छ।



    आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ मा प्रविधिमैत्री कक्षा निर्माण, आईसीटी सामग्री खरिद तथा तालिम सञ्चालनका नाममा व्यापक अनियमितता गरिएको छ। विद्यालयमा आपूर्ति नै नभएका सामग्रीहरूका लागि भुक्तानी गरिएको, तालिम सञ्चालन नगरी झुट्टा बिल पेश गरिएको तथा विद्यालयको आन्तरिक आम्दानी र विद्यार्थीबाट उठाइएको शुल्क बैंक दाखिला नगरी दुरुपयोग गरिएको पाइएको आयोगको दाबी छ।

    यसरी कुल १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैसा बराबरको हिनामिना भएको आयोगले जनाएको छ। उक्त प्रकरणमा तत्कालीन प्रधानाध्यापक हरिप्रसाद खनालले समग्र प्रशासनिक तथा आर्थिक जिम्मेवारी दुरुपयोग गरेको, लेखापाल ठकबहादुर बुढाथोकीले झुट्टा बिल तथा भुक्तानी प्रक्रिया मिलाएको, कार्यालय सहायकहरू रमा शाह र गौरी रावत केसीले कागजात व्यवस्थापन र भुक्तानी प्रक्रियामा सहयोग गरेको आरोप लगाइएको छ।

    त्यस्तै, विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्काले निर्णय प्रक्रियामा संलग्न भई अनियमितता स्वीकृत गरेको, मुसिकोट नगरपालिकाका शाखा अधिकृत बिनाराम खड्का र सूचना प्रविधि अधिकृत गोपाल ओलीले सम्बन्धित अनुगमन तथा प्राविधिक जिम्मेवारीमा रहँदा गलत कार्यमा संलग्नता जनाएको आरोप छ।

    यसैगरी, तुलसीपुर, दाङस्थित डिजिटल कम्प्युटर एण्ड इलेक्ट्रोनिक्स वल्डका प्रोप्राइटर शिवप्रसाद श्रेष्ठले सामग्री आपूर्ति नगरी भुक्तानी लिएको तथा भ्रष्टाचारजन्य कार्यमा सहकार्य गरेको अभियोग लगाइएको छ। आयोगले सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट