काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो प्रयोग गरी सञ्चालन भइरहेका अनाधिकृत सामाजिक सञ्जालका पेज तथा ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ । बोर्डले बुधबार एक सूचना जारी गर्दै फेसबुक, टिकटक र युट्युब लगायतका माध्यममा बोर्डको नाममा सञ्चालित अनधिकृत पेजहरूबाट भ्रामक र तथ्यहिन सूचना सम्प्रेषण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
बोर्डका अनुसार ‘नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड’, ‘स्वास्थ्य बीमा बोर्ड’, ‘स्वास्थ्य बीमा कार्यक्रम’ जस्ता नाम र लोगो प्रयोग गरेर खोलिएका पेजहरूले आम नागरिकमा भ्रम सिर्जना गरिरहेका छन् ।
यस प्रकारका पेज तथा ग्रुपहरू सञ्चालन गर्ने व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले २४ घण्टाभित्र त्यस्ता सामग्री हटाउन बोर्डले सूचित गरेको छ । बोर्डले तोकिएको समयभित्र निर्देशन पालना नगरेको खण्डमा प्रचलित कानुन बमोजिम आवश्यक कानुनी कारबाही अगाडि बढाउने चेतावनी समेत दिएको छ ।

अर्थ चाैतारी ।