काठमाण्डौ । वैशाख १७ गतेका लागि बोलाइएको सङ्घीय संसद्को अधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलले बस्दै नबसी स्थगित गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा राष्ट्रपति पौडेलले हिजो आह्वान गरेको सङ्घीय संसद्को अधिवेशन आज फेरि स्थगित गर्ने निर्णय गरेका हुन्। सरकारले राष्ट्रपति कार्यालयलाई आह्वान गरिएको अधिवेशन विशेष कारणले स्थगित गर्न परेको पत्र पठाएको राष्ट्रपति कार्यालयले अधिवेशन स्थगन गर्नका लागि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यता सरकारले भने अब आह्वान गर्ने संसद्को अधिवेशन बजेट अधिवेशन रहेको र त्यो अधिवेशनका लागि तयारी नपुगेकाले स्थगित गर्नुपरेको जनाएको छ । प्रधानमन्त्री बालेन्द्र शाह कि प्रेस विज्ञ दिपा दाहालले बजेट अधिवेशनको तयारी नभएकाले आह्वान गरिएको अधिवेशन सरकारले बस्दै नबसी स्थगित गर्नुपरेको जानकारी दिइन् ।
‘बजेट अधिवेशनका लागि तयारी नपुगेका कारण संसद्को अधिवेशन स्थगित गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। त्यसैअनुसार राष्ट्रपतिज्यूले संसद् अधिवेशन स्थगित गर्ने निर्णय गर्नु भएको हो,’ प्रेस विज्ञ प्रेस विज्ञ दाहालले रातोपाटीसँग भनिन् ।
यता सङ्घीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले आह्वान भएको अधिवेशन स्थगित भएको जानकारी आएको र कारण नखुलाइएको बताए । उनले रातोपाटीसँग भने, ‘आह्वान भएको अधिवेशन स्थगित भएको जानकारी आएको छ। तर कारण भने के हो खुलाइएको छैन ।’
अर्थ चाैतारी ।