काठमाण्डौ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा १४ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा १०.४९ प्रतिशतले घटेको हो।
गत वर्ष बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो। बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी २०.७८ प्रतिशतले घटेर ६ अर्ब ३० करोड ८२ लाख रुपैयाँमा झर्नु र सञ्चालन नाफामा ४७.८६ प्रतिशतको उच्च गिरावट आउनुले समग्र मुनाफामा प्रत्यक्ष असर पारेको देखिन्छ।
यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) मा उल्लेख्य वृद्धि भएको छ। गत वर्षको चैत मसान्तमा ५.७५ प्रतिशत रहेको खराब कर्जा बढेर यसपालि ८.८५ प्रतिशत पुगेको छ।
व्यवसाय विस्तारमा पनि संकुचन देखिएको बैंकले कर्जा प्रवाह ७.८२ प्रतिशतले घटाएर २ खर्ब १ अर्ब रुपैयाँमा सीमित गरेको छ भने निक्षेप संकलन ४.८० प्रतिशतले बढेर ३ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।
वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी १.२७ रुपैयाँ कायम भएको छ भने वितरणयोग्य नाफा १३ अर्ब ६५ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। हाल बैंकको प्रतिसेयर नेटवर्थ १७२.९७ रुपैयाँ र चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ।
अर्थ चाैतारी ।