logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • लक्ष्मी सनराइज बैंकको नाफा २ अर्ब ३ करोड, निष्क्रिय कर्जा घट्यो

    लक्ष्मी सनराइज बैंकको नाफा २ अर्ब ३ करोड, निष्क्रिय कर्जा घट्यो

    520
    SHARES
    लक्ष्मी सनराइज बैंकको नाफा २ अर्ब ३ करोड, निष्क्रिय कर्जा घट्यो

    काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आफ्नो नाफामा २३.३६ प्रतिशतको उल्लेख्य वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्म २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ, जुन गत वर्षको सोही अवधिमा १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ मात्र थियो ।



    सञ्चालन दक्षतामा आएको सुधार र कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा गत वर्षको तुलनामा कमी आएका कारण बैंकको नाफामा बढोत्तरी देखिएको हो । खुद ब्याज आम्दानी ७ अर्ब ८७ करोड रुपैयाँमा झिनो संकुचन देखिए पनि इम्पेयरमेन्ट चार्ज ३ अर्ब १ करोडमा सीमित हुँदा त्यसको प्रत्यक्ष लाभ नाफामा परेको छ ।

    पछिल्लो नौ महिनामा बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवै क्षेत्रमा सन्तुलित वृद्धि गरेको छ । गत असार मसान्तमा ३ खर्ब ६७ अर्ब रुपैयाँ रहेको निक्षेप बढेर ४ खर्ब ३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह पनि ३ खर्ब २ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ ।

    बैंकको कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ७७.०४ प्रतिशतमा रहनुले बैंकसँग लगानीका लागि अझै पर्याप्त तरलता रहेको संकेत गर्छ । यस्तै, बैंकले खराब कर्जा व्यवस्थापनमा पनि सफलता हात पारेको छ । गत वर्ष ५.८६ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा घटेर ५.२९ प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा (नेट एनपीएल) १.३९ प्रतिशतमा सीमित भएको छ, जसले बैंकको ऋण असुली प्रक्रिया प्रभावकारी बनेको पुष्टि गर्दछ ।

    वित्तीय सूचकहरूमा आएको सुधारसँगै लगानीकर्ताका लागि प्रतिसेयर आम्दानी (ईपीएस) ८.०५ रुपैयाँबाट वृद्धि भई १०.१५ रुपैयाँ पुगेको छ । बैंकको आधार दर (बेस रेट) ६.७२ प्रतिशतबाट घटेर ५.२० प्रतिशतमा झरेका कारण ऋणीहरूका लागि ब्याजदर सस्तो र प्रतिस्पर्धी बनेको छ ।

    हाल २६ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १७५.०८ रुपैयाँ र वितरणयोग्य नाफा ११ करोड ४५ लाख रुपैयाँ रहेको छ । बैंकको पुँजी कोष अनुपात ११.९० प्रतिशत रहेको छ भने इक्विटीमा प्रतिफल (आरओई) ५.८९ प्रतिशत कायम भएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट