काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) को खुद नाफामा उल्लेख्य गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्म बैंकको नाफा गत वर्षको तुलनामा ३०.६९ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले यसपालि ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँ मात्र कमाएको छ । मुख्य गरी निष्क्रिय कर्जामा भएको वृद्धि र त्यसबापत गर्नुपर्ने ठुलो रकमको नोक्सानी व्यवस्था (प्रोभिजनिङ) का कारण बैंकको नाफा प्रभावित भएको देखिन्छ ।
बैंकको वित्तीय स्वास्थ्यमा निष्क्रिय कर्जाको भार निकै बढेको छ । गत वर्षको चैतमा ६.०६ प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात यस वर्ष बढेर ८.४१ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै बैंकले ३ अर्ब ५ करोड ६४ लाख रुपैयाँ ‘इम्पेयरमेन्ट चार्ज’का रूपमा छुट्याउनु परेको छ । नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि १७.७४ रुपैयाँबाट झरेर १२.२९ रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चित नोक्सानी ३ अर्ब १० करोड ३१ लाख रुपैयाँ पुग्नुका साथै वितरणयोग्य नाफा पनि ६४ करोड ८० लाख रुपैयाँले ऋणात्मक देखिएको छ, जसले गर्दा तत्कालका लागि सेयरधनीलाई लाभांश बाँड्न सक्ने क्षमतामा संकुचन आएको छ ।
आम्दानीतर्फ बैंकको खुद ब्याज आम्दानी १० अर्ब ३१ करोडबाट घटेर ९ अर्ब ५७ करोड ९५ लाख रुपैयाँमा खुम्चिएको छ । ब्याजदर अन्तर (स्प्रेड रेट) ३.४५ प्रतिशतबाट घटेर २.७९ प्रतिशत कायम हुनु र बजारको प्रवृत्ति अनुसार आधार दर ४.८५ प्रतिशतमा झर्नुले पनि नाफामा दबाब बढाएको हो । तर, निक्षेप संकलनमा भने बैंकले राम्रो प्रगति गरेको छ । गत असार मसान्तसम्म ४ खर्ब ७२ अर्ब रुपैयाँ रहेको निक्षेप चैतसम्म आइपुग्दा ५ खर्ब २६ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
कर्जा प्रवाह भने अघिल्लो वर्षको तुलनामा करिब स्थिर छ । हाल बैंकको कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ६८.३७ प्रतिशत रहनुले लगानीयोग्य रकम पर्याप्त रहेको देखाए पनि पुँजी पर्याप्तता अनुपात १२.४१ प्रतिशत र प्राथमिक पुँजी अनुपात ९.७० प्रतिशत मात्र हुनुले बैंकको थप कर्जा विस्तार गर्ने क्षमतामा केही चुनौती देखिएको छ । हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९.७२ रुपैयाँ कायम भएको छ ।
अर्थ चाैतारी ।