काठमाण्डौ । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा आफ्नो खुद नाफा २१.४९ प्रतिशतले वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन भएको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब २० करोड रुपैयाँ मात्र थियो। बैंकको वितरणयोग्य नाफा १ अर्ब २ करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी १७.१९ रुपैयाँ कायम भएको छ।
बैंकको व्यावसायिक आम्दानीतर्फ खुद ब्याज आम्दानी ९.४६ प्रतिशतले बढेर ३८६.९४ करोड पुगेको छ भने गैर–ब्याज आम्दानीमा २७.४२ प्रतिशतको उल्लेख्य सुधार हुँदै १५३.८३ करोड रुपैयाँ पुगेको छ। बैंकले आफ्नो वित्तीय स्वास्थ्यका अन्य सूचकहरूमा पनि मजबुत सुधार देखाएको छ। विशेष गरी निष्क्रिय कर्जा (एनपीएल) लाई ४.०६ प्रतिशतबाट १५३ आधार बिन्दुले घटाएर २.५३ प्रतिशतमा झार्न बैंक सफल भएको छ।
यसै अवधिमा बैंकको पुँजी पर्याप्तता अनुपात १३.७६ प्रतिशत पुगेको छ भने कोषको लागत ५.३५ प्रतिशतबाट घटेर ४.११ प्रतिशत कायम भएको छ। हाल बैंकको प्रतिशेयर नेटवर्थ १८९.५७ रुपैयाँ रहेको छ। वित्तीय विवरण अनुसार बैंकले लागत व्यवस्थापन र खराब कर्जा असुलीमा राम्रो प्रदर्शन गरेको देखिन्छ।
अर्थ चाैतारी ।