काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेट तयारीलाई तीव्रता दिँदै अर्थ मन्त्रालयले मन्त्रालयगत बजेट छलफलको पहिलो दिन सोमबार सम्पन्न गरेको छ। बिहान ११ बजेदेखि सुरु भएको छलफल साँझ साढे ७ बजेसम्म निरन्तर चलेको थियो।
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले तय गरेको कार्यतालिका अनुसार सुरु भएको यो छलफल मङ्गलबारसम्म जारी रहनेछ। पहिलो दिन गृह मन्त्रालयसँग छलफलको सुरुआत गरिएको थियो।
त्यसपछि क्रमशः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग विस्तृत बजेट छलफल गरिएको थियो।
छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ तथा राजस्व सचिव, बजेट लेखन समितिका संयोजक तथा सदस्यहरू, साथै बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख र विषयगत शाखा प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो।
सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव तथा महाशाखा प्रमुखहरूसँग आगामी बजेटको रूपरेखा, नीति तथा कार्यक्रम, प्रस्तावित बजेट सीमा तथा स्रोत व्यवस्थापनका विषयमा गहन विचार–विमर्श गरिएको मन्त्रालयले जनाएको छ।
छलफलमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। विक्रम तिमिल्सिना, शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, साथै सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावललगायत सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
अर्थ मन्त्रालयका अनुसार दोस्रो दिन बाँकी मन्त्रालयहरूसँग बजेट छलफल जारी रहनेछ, जसले आगामी बजेटलाई थप यथार्थपरक, प्रभावकारी र प्राथमिकतामुखी बनाउने अपेक्षा गरिएको छ।
अर्थ चाैतारी ।