काठमाण्डौ । नेकपाका सांसद मातृका यादवले सरकारको नीति कार्यक्रमले समाजवाद उन्मुख बाटो समाउनु पर्ने सुझाव दिएका छन्। प्रतिनिधिसभामा जारी आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल भाग लिँदै उनले अहिलेको नीति कार्यक्रम त्यस अनुसार नआएको बताए।
जनकपुर चुरोट कारखान, गोरखाकाली टायर उद्योग, हेटौँडा कपडा उद्योग, विराटनगर जुटमिल, वीरगन्ज चिनी उद्योग, बुटवल धागो उद्योग सहित बन्द रहेका राष्ट्रिय उद्योग पुनः सञ्चालन गर्ने योजनामा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए। ‘बन्द उद्योग सञ्चालन गर्न सके हजारौँले रोजगारी पाउने थिए,’ उनले भने।
यादवले वैदेशिक लगानीको वातावरण बनाउन सरकारले सरज, सहज र सुलभ वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। उनले देशकै लगानीकर्तासँग छलफल र संवाद गरेर सरकारले लगानीको वातावरण बनाउनु पर्ने उनको भनाई थियो।
उनले सार्वजनिक यातायातमा रहेको संरचनागत सिन्डिकेट अन्त्य गरिनुपर्ने माग गरे। ‘अहिले पनि सार्वजनिक यातायातमा सिन्डिकेट कायम छ। सञ्चालकको मनपरीले यात्रुमाथि अहिले पनि ज्यादती भइरहेको छ,’ उनले भने, ‘सार्वजनकि यातायातमा अव्यवस्था र असुरक्षा बढिरहेको छ सार्वजनिक यातायातमा खुला प्रतिपर्धा हुनुपर्छ,।’
मधेसमा ग्राउण्ड वाटर रिचार्जको कार्यक्रम ल्याउन उनले आग्रह गरे। मधेसमा इनार र चाँपाकल सुक्न थालेका भन्दै उनले त्यसले मधेसमा भयावह अवस्था सिर्जना हुन थालेको बताए। यादवले कमला नदीको निर्माणाधिन पुल र हुलाकी राजमार्गको भत्किएको पुल तुरुन्त निर्माण गर्न माग गरे।
निलगाई तथा बाँदर नियन्त्रणमा सरकारले उचित व्यवस्था गर्नुपर्ने भन्दै उनले सरकार उत्पीडित वर्गको सेवक बन्नुपर्नेमा जोड दिए।
अर्थ चाैतारी ।