logo

२०८३ जेष्ठ ८, शुक्रबार

logo
  • २०८३ जेष्ठ ८, शुक्रबार
  • नेपाली चिया निर्यातको अवरोध हट्यो

    नेपाली चिया निर्यातको अवरोध हट्यो

    507
    SHARES
    नेपाली चिया निर्यातको अवरोध हट्यो

    काठमाण्डौ । परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको नीतिगत अवरोध पूर्ण रूपमा हटेको जनाएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिए । नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको निरन्तर समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी पुनः सहज भएको उनले बताए ।



    यसैगरी नेपाल र चीनबिचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाण्डौमा आयोजना हुने तय भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् । यसै अवधिमा नेपालले नर्वे र स्विट्जरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्दैछ ।

    पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको बताए । उनका अनुसार हालसम्म ६ सय ८७ जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई हप्तामा मात्रै ७१ जना थपिएका छन् । कम्बोडियाका जेलमा रहेका २९ जना नेपालीको कानुनी सहायताका लागि पहल भइरहेको छ भने म्यानमारमा कैद मिनाहाका लागि कूटनीतिक प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ ।

    विदेशमा रहेका नेपालीहरूलाई परामर्श र सहयोग उपलब्ध गराउन मन्त्रालयले आगामी जेठ २२ गते ‘मोफा मित्र’ एप सार्वजनिक गर्ने तयारी गरेको छ । व्यक्तिगत घटना दर्तासँग सम्बन्धित कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणालीलाई पनि थप विस्तार गरिएको छ ।

    अर्कोतर्फ राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको अन्तिम तयारी गरिरहेको छ । आगामी असार अन्तिम सातादेखि नयाँ प्रणाली पूर्ण रूपमा लागू हुने र हाल राहदानी सेवा सुचारु रहेको मन्त्रालयले स्पष्ट पारेको छ । नयाँ प्रणालीमा संक्रमणकालीन अवस्थामा सहजताका लागि पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई जेठ महिनाभित्रै आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।

    संयुक्त अधिराज्य (यूके) की पार्लियामेन्ट्री अन्डर सेक्रेटरी सीमा मल्होत्राको नेपाल भ्रमण र परराष्ट्रमन्त्रीसँगको भेटवार्ता, एफएटीएफको ‘ग्रे लिस्ट’ बाट बाहिरिने सम्बन्धमा भएका प्रयासहरू तथा विमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट एग्रिमेन्टको कार्यान्वयनका विषयमा पनि प्रवक्ता क्षेत्रीले जानकारी गराए । मन्त्रालयले आगामी जेठ २९ गते ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ भव्य रूपमा मनाउने र प्रोफेसर यदुनाथ खनाल प्रवचन शृङ्खलाको पाँचौँ संस्करण असारमा आयोजना गर्ने तयारी गरेको छ ।

    सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीमध्ये परराष्ट्र मन्त्रालयसँग सम्बन्धित २४ बुँदामध्ये ११ वटा सम्पन्न भइसकेको समेत जानकारी दिइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट