ललितपुर । नेपालको सर्वाधिक डाउनलोड गरिएको ट्राभल एप ‘ट्रिप टर्बो’ र विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म ‘अगोडा’ बीच रणनीतिक साझेदारी भएको छ ।
यस सहकार्यसँगै अब नेपाली यात्रुहरूले विश्वभरका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामा झन्झटरहित ढंगले बुक गर्न सक्ने भएका छन् । यस साझेदारीमार्फत ट्रिप टर्बोका प्रयोगकर्ताहरूले अगोडाको विश्वव्यापी नेटवर्कमा रहेका लाखौँ होटल तथा आवास सेवाहरूमा सहज पहुँच पाउनेछन् ।
अगोडाको अन्तर्राष्ट्रिय पहुँच र ट्रिप टर्बोको नेपाली बजारप्रतिको गहिरो बुझाइलाई संयोजन गर्दै यात्रुहरूलाई सहज, सुरक्षित र विश्वासिलो बुकिङ अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ । पछिल्लो समय नेपालीहरूको अन्तर्राष्ट्रिय यात्राप्रतिको आकर्षण बढिरहेको सन्दर्भमा यस सहकार्यलाई नेपालको डिजिटल ट्राभल क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
सन् २०२१ मा स्थापना भई २०२४ सेप्टेम्बरदेखि मोबाइल एप सञ्चालनमा ल्याएको ट्रिप टर्बोले छोटो समयमै ५ लाखभन्दा बढी डाउनलोडको माइलस्टोन पार गरिसकेको छ । हाल यो प्लेटफर्मबाट यात्रुहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, बस टिकट, होटलका साथै २०० भन्दा बढी पर्यटकीय गतिविधिहरू बुक गर्न सक्छन् ।
त्यस्तै, सिङ्गापुरमा मुख्यालय रहेको अगोडाले संसारभरका ६० लाखभन्दा बढी होटल तथा होलिडे प्रोपर्टीहरूमा सेवा प्रदान गर्दै आएको छ । ट्रिप टर्बो र अगोडाको यो नयाँ सहकार्यले गर्दा अब नेपाली यात्रुहरूले एउटै प्लेटफर्मबाट स्वदेशी तथा विदेशी दुवै प्रकारका यात्रा सेवाहरू सजिलै प्राप्त गर्न सक्नेछन् ।
अर्थ चाैतारी ।