logo

२०८३ जेष्ठ १०, आइतबार

logo
  • २०८३ जेष्ठ १०, आइतबार
  • इन्डोनेसियाली महिला आरोहीद्वारा ६ हजार ८१२ मिटर अग्लो आमादब्लमको सफल आरोहण

    इन्डोनेसियाली महिला आरोहीद्वारा ६ हजार ८१२ मिटर अग्लो आमादब्लमको सफल आरोहण

    247
    SHARES
    इन्डोनेसियाली महिला आरोहीद्वारा ६ हजार ८१२ मिटर अग्लो आमादब्लमको सफल आरोहण

    काठमाण्डौ । इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन् । ‘इन्डोनेसियन वुमेन्स रेड एण्ड ह्वाइट एक्सपेडिसन आमादब्लम नेपाल (ईएमपीपीआईएएन)–२०२६’ अन्तर्गत उनले यही जेठ २ गते हिमालको चुचुरो चुमेकी हुन् । नेपालस्थित इन्डोनेसियाली दूतावासका अनुसार नाद्याको यो आरोहणलाई इन्डोनेसियाली महिलाको साहस, क्षमता र अन्तर्राष्ट्रिय हिमाली क्षेत्रमा देखिएको दृढताको प्रतीकका रूपमा लिइएको छ ।



    यो अभियान विश्वका तीन ठूला हिमाल आरोहण गर्ने दीर्घकालीन योजनाको पहिलो चरण हो । यसै अभियानअन्तर्गत सन् २०२७ मा नेपालकै मनास्लु हिमाल र अन्तिम लक्ष्यका रूपमा पाकिस्तानस्थित केटु (K2) हिमाल आरोहण गर्ने योजना रहेको जनाइएको छ । इन्डोनेसियामा महिला अधिकार तथा समान अवसरका पक्षमा आवाज उठाउने राष्ट्रिय व्यक्तित्व आर.ए. कार्तिनीको आदर्शलाई आत्मसात् गर्दै सञ्चालन गरिएको यो अभियानले महिलालाई साहसिक क्षेत्रमा अघि बढ्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ ।

    गत अप्रिल २९ मा नेपाल आइपुगेकी नाद्यालाई नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालसहित नेपालस्थित इन्डोनेसियाली समुदायले स्वागत गरेका थिए । आरोहणका क्रममा बेस क्याम्पदेखि क्याम्प–१ र क्याम्प–२ सम्म वातावरण अनुकूलन गर्दै अघि बढेकी उनलाई प्रारम्भिक चरणमा नेपाली गाइड पासाङ शेर्पाले साथ दिएका थिए । अन्तिम आरोहणका क्रममा भने गाइडहरू सोनाम शेर्पा र पुर्बा तामाङ सहभागी थिए ।

    लगभग १८ देखि १९ घण्टाको कठिन हिमाली यात्रा पार गर्दै नाद्या आमादब्लमको चुचुरोमा पुग्न सफल भएकी हुन् । सफल आरोहणपछि उनी सकुशल काठमाण्डौ फर्किसकेकी छन् । यसैबीच, उनको यो उपलब्धिको सम्मानस्वरूप नेपालस्थित इन्डोनेसियाली समुदाय र बंगलादेशस्थित इन्डोनेसियाली दूतावासका प्रतिनिधिहरूले काठमाण्डौमा एक स्वागत कार्यक्रमको आयोजना गरेका छन् । उक्त कार्यक्रममा आमादब्लमको सफल आरोहण गरिसकेकी अर्की महिला आरोही फुर्की स्यारोनीलाई पनि सम्मान गरिएको थियो ।

    यो आरोहणसँगै आमादब्लम हिमालको सफल आरोहण गर्ने इन्डोनेसियाली आरोहीको संख्या १२ पुगेको छ । दूतावासले नेपालका हिमालहरूमा आरोहण गर्नु केवल साहसिक यात्रा मात्र नभएर उद्देश्य, सपना र राष्ट्रिय गौरवसँग जोडिएको महत्वपूर्ण अभियान भएको उल्लेख गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट