logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • एमए पावरको मर्स्याङदी नदी अर्धजलाशययुक्त आयोजनाले पायो उत्पादन लाईसेन्स

    एमए पावरको मर्स्याङदी नदी अर्धजलाशययुक्त आयोजनाले पायो उत्पादन लाईसेन्स

    39
    SHARES
    एमए पावरको मर्स्याङदी नदी अर्धजलाशययुक्त आयोजनाले पायो उत्पादन लाईसेन्स

    काठमाण्डौ । एम.ए. पावर प्रा. लि.ले ९० मेगावाट क्षमताको मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणको लागि उत्पादन अनुमति पाएको छ । विद्युत विकास विभागले २०८३ वैशाख ३० गते उत्पादन अनुमतिको लाईसेन्स दिएको हो।



    आयोजनाले ३५ वर्ष अवधिको लाइसेन्स पाएको छ । विभागले आयोजना निर्माणको लागि अनुपतिपत्र दिएसंगै अब आयोजनाको काम अघि बढ्ने छ।

    कस्तो हो आयोजना ?

    एम.ए. पावर प्रा.लि. प्रस्तावक रहेको ९० मे.वा. क्षमताको मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजना गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लाको भानु नगरपालिका र बन्दिपुर गाउँपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र गोरखा जिल्लाको पालुङटार नगरपालिकामा प्रस्ताव गरिएको छ।

    प्रस्तावित आयोजना Peaking Run of River (PRoR) प्रकृतिको रहेको छ र पिकिङ्ग आवर १ घण्टा रहेको छ। प्रस्तावित आयोजनाको ग्रस हेड ९४.२० मि., नेट रेटेड हेड ८५.६४ मि. रहेको छ र डिजाइन डिस्चार्ज (Q40%) ११८.७८ घनमिटर प्रति सेकेण्ड रहेको छ । प्रस्तावित आयोजनाबाट वार्षिक कुल ५४८.९५ गिगावाट आवर ( वर्षा याममा ऊर्जा – ३७५.४८ गिगावाट आवर, सुक्खा यामको कुल ऊर्जा उत्पादन-१७३.४७ गिगावाट आवर ( Peak Energy – १५.६३ गिगावाट आवर र Non- Peak Dry Energy – १५७.८४ गिगावाट आवर ) ) ऊर्जा उत्पादन हुनेछ । हेडवर्क्स (बराज, इन्टेक,डिसेन्डर), Connecting Canal, हेडरेस टनेल, अडिट टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप, विद्युतगृह, टेलरेस, Outdoor स्वीचयार्ड तथा प्रसारण लाइन प्रस्तावित आयोजनाका मुख्य अवयवहरू हुन् ।

    हेडरेस टनेलको लम्बाइ ११.९ कि.मि. तथा पेनस्टक पाइपको लम्बाइ ९७० मिटर र आन्तरिक व्यास ६.५ मिटर रहेको छ । यस आयोजनाबाट उत्पादित विद्युत २२० के.भी. सिङ्गल सर्किट विद्युत प्रसारण लाइन मार्फत ११.६ कि.मि. को दूरीमा अवस्थित नेपाल विद्युत प्राधिकरणको मार्किचोक सबस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण ग्रीडमा समाहित गरिनेछ ।

    आयोजनाबाट तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं. १, २, ३, ४, ७, ८, ९, र १०, तथा बन्दिपुर गाउँपालिकाको वडा नं ४, र ५ प्रभावित हुने छन् । त्यस्तै लमजुङ जिल्लाको राईनास नगरपालिकाको वडा नं ५, ६, र ७ , तथा गोरखा जिल्लाको पालुङटार नगरपालिकाको वडा नं ३, ४, ५, ६,७, र ८ प्रभावित हुने छन् । आयोजनाको इन्टेक भानु नगरपालिका वडा नं. ९ – तनहुँ, तथा राईनास नगरपालिका वडा नं. ७- लमजुङमा रहने छ भने विद्युत गृह भानु नगरपालिका, वडा नं १ तनहुँमा रहने छ ।

    प्रस्तावित आयोजनाको बराज मर्स्याङ्दी नदीको दायाँबायाँ किनारामा रहेको छ भने अन्य सम्पूर्ण संरचनाहरू मर्स्याङ्दी नदीको दायाँ किनारामा निर्माणका लागि प्रस्ताव गरिएको छ। यस आयोजनाको हेडवर्क्स मर्स्याङ्दी नदीको दायाँ किनारामा बाइसजाँगर र पाँचभाइ चौतारा जोड्ने मोटरेबल पुलभन्दा करिब ५० मि. माथिल्लो तटीय क्षेत्रमा प्रस्ताव गरिएको छ भने सतही प्रकारको विद्युत गृह भन्सार नजिक मर्स्याङ्दी नदीको दायाँ किनारामा प्रस्ताव गरिएको छ । त्यसैगरी आयोजनाका लागि आवश्यक रहेका कार्यालय भवन, कामदार शिविर, क्रसर प्लान्ट, उत्खनन स्थल, उपकरण स्थल समेत र अन्य भौतिक संरचनाहरू जस्तै हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक, अडिट र विद्युतगृह, आदि तनहुँ जिल्लाको भानु नगरपालिकामा निर्माणका लागि प्रस्ताव गरिएको छ ।

    आयोजनाको कुल लागत २० अर्ब २५ करोड रहेको छ । कुल लागत मध्ये ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण मार्फत बेहोरिने छ । आयोजनामा चार वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने छन् । आयोजनामा चार वटा बैंक तथा वित्तीय संस्थाले १० अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुङ्गो लागिसकेको छ। आयोजनामा कुमारी बैंकले चार अर्ब, प्रभु बैंकले तीन अर्ब, सिद्धार्थ बैंकले दुई अर्ब र कृषि विकास बैंकले एक अर्ब पचास करोड रुपैयाँ लगानी गर्नेछन् । अन्य बैंक तथा वित्तिय संस्थाहरुले पनि लगानी गर्ने बताइएको छ।

    आयोजनाबाट २०८६ वैशाखमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनाको विद्युत् प्रतियुनिट हिउँदमा ८.४० रुपैयाँ र वर्षामा ४.८० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणलाई बिक्रि गर्ने गरि २०८० कार्तिकमा सम्झौता भईसकेको छ । प्रबर्दक कम्पनी एमए पावरका अध्यक्ष अनुप आचार्य हुन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट